एसपी आसा, साहित्यकार
नेपाली साहित्यमा ३० भन्दा बढी पुस्तक प्रकाशित गरेर योगदान दिइसकेका ७५ वर्षे जवानको नाम हो– श्रीप्रसाद उपाध्याय घिमिरे । तर, उहाँलाई यो नामले थोरैले मात्र चिन्छन्, धेरैका लागि त एसपी आसा लोकप्रिय छ ।
उहाँ जबान किन हुनुहुन्छ भने सोसल मिडियाको वालदेखि कापीका पानाहरुसम्म उहाँ सक्रियका साथ लेखिरहनुभएको छ । १५ वटा उपन्यासका लेखक आसाका ऐतिहासिक साहित्यिक कृति पृथ्वीनारायण शाहलगायत निकै लोकप्रिय छन् । प्रस्तुत छ, एसपी आसासँग नेपाल समाचारपत्रका लागि यदुप्रसाद भट्टले गरेको कुराकानीः
–एसपी आसाभन्दा त डीआईजी आसा वा आईजीपी आसा ठूलो हो नि, होइन ?
(मजाको हाँसो) हो नि, एसपीभन्दा पक्कै पनि डीआईजी वा आईजीपी नै ठूलो हो । तर, साहित्यमा एसपी आसा पनि सानो चाहिँ छैन । यो प्रहरीको एसपी नभई साहित्यको एसपी हो । प्रहरीमा एसपी, एसएसपी, डीआईजी, आईजी, आईजीपी होलान् । मेरो सन्दर्भमा त्यस्तो भएको होइन । म २२ वर्षको उमेरमा टोखा अस्पतालमा प्रमुख भएर काम गर्दा बढो फुर्तीका साथ काम गर्थेँ ।
मेरो काम गर्ने शैली तौरतरिका देखेर सबै छक्क पर्थे । यही सन्दर्भमा मेरो कामको मूल्यांकन गरेर साथीहरुले यो त एसपीभन्दा पनि कडा छ । यसको काम गर्ने शैली एसपीको जस्तै छ भनेर मलाई एसपी भनेर सम्बोधन गर्न थाले । पछि त्यही नामलाई मिलाएर मैले साहित्यमा पनि एसपी नै राखेँ । निरासा भन्ने कुरा जीवनमा लिनु हुन्न भन्ने मान्यताको म त्यसैले कर्म गरेर आस राख्ने अनि थपेँ आसा पनि र हुन गयो एसपी आसा ।
–३०औं पुस्तक छापिएपछि तपाईं बढी इतिहासकार हुनुभयो कि साहित्यकार ?
म त मेरो ३०औं पुस्तक छापिएपछि दुवै भएँ । साहित्य र इतिहासलाई मिश्रण गरेर लेख्ने म एक्लै हुँ । सायदै मैले जसरी उपन्यासमा साहित्य र इतिहासलाई मिश्रण गरेर कसैले लेखेका छैनन् होला । मेरा १३ वटा पुस्तक इतिहाससँग सम्बन्धित छन् । अहिलेको साहित्यमा सस्तो यौन मनोविज्ञान घुसेको छ । सिंमन्ड फ्रायडको जस्तो यौनमनोविज्ञान हुनुपर्नेमा त्यस्तो नभई सस्तो र छाडा यौन मिसाइएको छ । नग्नताको प्रदर्शन अहिलेको साहित्यमा पाइन्छ । नग्नता साहित्य होइन । मैले त ऐतिहासिक विषयवस्तुलाई साहित्यमा उतारेको छु ।
–लक्ष्मीप्रसादको मुनामदनजस्तै स्वाद परेको कृति कुन हो ? किन ?
महाकविको जस्तो स्वादिलो कृति अरु कसैको हुन सक्दैन । महाकवि राष्ट्रका गहना हुन् । उनका कृतिसँग अरुको तुलना गर्न नै सकिँदैन । जहाँसम्म मेरा कृतिको बारेमा सोध्नुभएको होे भने मेरा सबै सन्तान बराबर हुन् ।
गौतम बुद्ध, पृथ्वीनारायण शाह बराबरै लाग्छ मलाई । तैपनि किटेरै भन्नुप¥यो भने पृथ्वीनारायणको नाम लिन्छु । किनकि यो नेपाल एकीकरणको सिलसिलालाई लिएर लेखिएको छ । यसले अलि बढी महत्व राख्छ कि भन्ने मेरो बुझाइ हो ।
–नेपालमा सहित्यकारले साहित्यिक कमाइबाट गुजारा गर्ने दिन आयो ? कहिले आउला ?
आएन । कुनै दिन आउला । हाल एक कप चिया खाने वातावरण नै छैन । कुनै बेला आउनेमा आशावादी छु । यदि राजनीतिक दलले साहित्यकारलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गरे भने अवश्य नै आउँछ त्यो दिन ।
–आसा प्रतिष्ठान के गर्दै छ ?
आगामी पुस्तालाई ज्ञानको खोज गर्न उत्प्रेरणा होस् भनी आसा प्रतिष्ठान स्थापना गरिएको हो । हाल आएर यो आसा प्रज्ञान केन्द्रको नामले परिचित छ । हाल नागार्जुन नगरपालिकाका मेयरले यस प्रज्ञान केन्द्रलाई सहयोग गर्ने तथा बजेट नै छुट्याएर भवन बनाउने कार्यक्रम छ ।
नागार्जुन नगरपालिकालाई हर क्षेत्रबाट अगाडि बढेको देख्न चाहनुहुन्छ मेयरले बौद्धिक क्षेत्र र राजनीतिक क्षेत्रको बीचको खाडल पुर्ने प्रतिबद्धता जनाउनुभएको छ, त्यही अनुरुप अहिले तीव्र रुपमा काम पनि भइरहेको छ । साहित्यकारलाई गहना मानेर स्थानीय सरकारले नै प्रोत्साहित गर्नुपर्छ, नागार्जुन यसको दृष्टान्त बन्ने मैले विश्वास लिएको छु । म चाहन्छु, अरु ७५२ स्थानीय सरकारले साहित्यकारका लागि ‘नागार्जुन’ बन्ने आदर्शका साथ काम गर्ने अवस्था सिर्जना होस् ।
स्थानीय सरकारले नै समाजमा विभिन्न गतिविधि गर्दै आएको प्रज्ञान केन्द्रलाई आवश्यक पर्ने सामग्रीहरु जुटाउँदै छ । मैले २०३४ सालदेखि निरन्तर रुपमा अध्ययन गरेका सामग्री पुस्तकहरुबाट सुरु गरेको आसा प्रतिष्ठान २०७५ सालदेखि आसा प्रज्ञान केन्द्रका नामले चिनिन्छ । यसले विधिवत् रुपमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता गरी कार्यहरु गर्दै आएको छ ।
आफ्नै आँगनमा राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई ल्याएर यसको आसा प्रतिष्ठानले सम्मान गरेको छ । विभिन्न साहित्यिक व्यक्तित्वलाई सम्मान गर्ने परम्पराको थालनी यस केन्द्रले गरेको छ । नेपाली साहित्यको संवद्र्धन प्रवद्र्धन गर्न सघाउ पु¥याउने तथा औपचारिक शिक्षा, सामुदायिक सिकाइ केन्द्र, पुस्तकालय स्थापनाजस्ता शैक्षिक कार्यक्रमहरु गर्ने लक्ष्य छ । आफैले संकलन गरेको ५ हजारभन्दा बढी पुस्तकको संगालोबाट सरस्वती पुस्तकालय स्थापना गरी सर्वसाधारणलाई खुला गरिसकेको छ । आसा प्रज्ञान केन्द्रले दुई वटा पुरस्कार प्रदान गर्ने सोच बनाएको छ । यसका लागि तयारी पनि तीव्र रुपमा भइरहेको छ ।
–अनारदाना दन्तलहर त हरायो नि, साहित्यमा विम्व, उपमा र प्रस्तुतिको प्रयोगमा कस्तो परिवर्तन पाउनुभएको छ ?
जमाना बदलिएको छ, हेर्नुस् । हाम्रा पालामा प्रविधिको प्रयोग पनि थिएन । हामी संस्कृतबाट माथि आएका मान्छे । सबै कुरा छन्दमा हुन्थ्यो । अहिलेको नेपाली साहित्य अङ्ग्रेजी भाषाको चपेटामा परेको छ । छन्दोबद्ध कविता त परेकै कुरा हुन लाग्या बेलामा विम्व, उपमा हराउँदै गएको आभाष मैले गरेको छु ।
निखारिएको तिखारिएको रसिलो कसिलो विम्व, उपमा, अलङ्कार आदिले सुसज्जित साहित्य अहिलेको आवश्यकता हो । मूल भाषा संस्कृत नै लोप हुँदै जाँदा त्यसको प्रत्यक्ष असर नेपाली साहित्यमा परेको छ । यसलाई जोगाउनु तपाईं हामी सबैको कर्तव्य हो । विभिन्न समयमा नेपाली भाषा साहित्य संवद्र्धन गर्न साहित्यिक गोष्ठी, सभा, सम्मेलन, सेमिनार गर्नुपर्छ ।
–नेपालमा साहित्यकारको समस्या के हो ?
नेपालमा साहित्यकारको समस्या भनिसाध्यै छैन, कति हो कति ? राज्यले कुनै पनि ‘रेस्पोन्स’ नै गरेको छैन । कमसेकम साहित्यकारहरुलाई जिउने आधार त खडा गरिदिनुपर्छ नि । पकेटको खर्चले कति दिन कसरी साहित्य सिर्जना होला, यसतर्फ कसैको ध्यानै गएको छैन ।
–नयाँ पुस्ताका साहित्यकारहरुलाई केही सुझाव छ कि ?
देश रहे, भाषा संस्कृति रहे हामी रहन्छौं, नत्र हाम्रो अस्तित्व हुन्न, रहन्न । तसर्थ नेपाली साहित्यमा भर्खर पाइला टेकेका तथा संघर्ष गरिरहेका तमाम साहित्यिक जन–मनलाई तन मन धनले नेपाली साहित्यको श्रीवृद्धिमा लाग्नुहोस् भन्न चाहन्छु । हामी साहित्यकार भनेका राष्ट्रका गहना हौं भन्ने कुरा उत्कृष्ट रचना पस्केर देखाउन सक्नुपर्छ । बेढंगी पाराको, नेपाली भाषा मर्ने गरी अन्य भाषाको शब्द चयनमा ध्यान दिनुहुन पनि अनुरोध छ । उत्कृष्ट साहित्यिक रचना भए भविष्य पनि उज्वल हुनेमा दुईमत हुन्न । तसर्थ राम्रा रचनामा ध्यान दिन आग्रह गर्दछु ।
प्रतिक्रिया