बढ्यो बाढी र डुबानको खतरा


टीका बन्धन, काठमाडौं
गत बिहीबारदेखि भित्रिएको मनसुनी प्रभावले मुलुकका केही भेगमा भारी वर्षासमेत शुरु भएको छ । चितवन, नवलपरासी, पाल्पा, स्याङ्जा र आसपासमा भारी वर्षा जारी रहेकाले बाढीको प्रभाव समेत बढ्ने भएको छ ।

ती क्षेत्रमा शनिबार दिउँसोदेखि वर्षाको मात्रा बढेकाले नदी किनारा आसपासका भेगमा उच्च सर्तकता अपनाउन जल तथा मौसम विज्ञान विभागले अग्रिम सूचना जारी गरेको छ । विभाग मातहतको बाढी पूर्वानुमान शाखाका सिनियर हाइड्रोलोजिस्ट विनोद पराजुलीका अनुसार चितवन, नवलपरासी, पाल्पा, स्याङ्जा आसपासमा भारी वर्षासँगै बाढीको उच्च सम्भावना बढेको छ ।

चितवनको रिउ खोला र आसपासको भेगमा शनिबार दिउँसोदेखि वर्षाले खतराको तह पार गरेकाले सतर्क रहन आग्रह गर्दै सो भेग आसपासका स्थानीयलाई ‘मास एसएमएस’ पठाइएको छ ।

आइतबार चितवन र चितवनभन्दा पश्चिमतर्फका खोला नदी किनारामा सर्तकता अपनाउनुपर्ने बताउँदै उहाँले भन्नुभयो– ‘खास गरी चुरे आसपासबाट बहने खहरे र मध्यम प्रकृतिका खोला किनारामा बाढीको जोखिम निकै बढ्ने देखिएको छ ।’ चितवनको रिउ खोला र आसपासको भेगमा शनिबार दिउँसोदेखि वर्षाले खतराको तह पार गरेकाले सतर्क रहन आग्रह गर्दै सो भेग आसपासका स्थानीयलाई ‘मास एसएमएस’ पठाइएको पराजुलीले जानकारी दिनुभयो ।

चितवनको माडीस्थित वनकट्टा, कल्याणपुर, छरछरे, गोविन्दबस्ती लगायतका भेगमा १२ घन्टाको अवधिमा १ सय मिलिमिटर हाराहारीमा वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कुनै स्थानमा एक घन्टाको अवधिमा ६० मिलिमिटर, तीन घन्टामा ८० र छ घन्टामा १ सय मिलिमिटर वर्षा भएमा मौसमविद् खतराको तह नाघेको बुझ्ने गर्छन् । निरन्तर यस्तो वर्षा भएमा भिरालो जमिनमा पहिरो र समथर जमिनमा डुबान र बाढीको उच्च सम्भावना रहने विज्ञ औंल्याउँछन् ।

महाशाखाले शनिबार अपराह्नदेखि आइतबार दिउँसोसम्म चितवन पश्चिमका भेगमा भारी वर्षाको सम्भावना औंल्याउँदै विशेष बुलेटिन जारी गरेको छ । बादलको प्रणाली थप शक्तिशाली भई पश्चिमतर्फ सरिरहेकाले नवलपरासी र आसपासका भेगमा भारी वर्षाको सम्भावना रहेको महाशाखाकी मौसमविद् मञ्जु बासीले बताउनुभयो ।

‘भारतको छत्तीसगढ, झारखण्ड आसपासको भेगमा विकास भएको न्यून चापीय रेखाले नेपालमा पर्याप्त मात्रामा जलवाष्पयुक्त हावा भित्र्¥याइरहेको छ, त्यसैको प्रभावले धेरै ठाउँमा मध्यम र केही ठाउँमा भारी वर्षाको प्रभाव देखिएको हो’ –उहाँले भन्नुभयो । शनिबार अधिकांश भेगको मौसम प्रभावित भए पनि देशैभरि मनसुनी प्रभाव भने नपरेको र मनसुन सबैतिर फैलन अझै दुई÷दिन लाग्ने बासीको भनाइ छ ।