प्रमको जिल्लामै छैन पानी


उत्तम नेपाल, भद्रपुर । गाउँमा धारा छन् तर पिउने पानी छैन । केहीको घरमा धारामा आउने पानीले लुगा धुने, गाईबस्तुलाई खुवाउने, भाँडावर्तन माझ्ने गर्छन् । पानीको अभाव खेपिरहेका गाउँलेको संख्या वर्षेनी थपिँदै छ । यो पीडा वर्तमान प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापाको शिवसताक्षी नगरपालिकामा हो ।

नगरको ९ र १० नम्बर वडाका ३ वटा गाउँका बासिन्दा अहिले पनि पानीको अभाव भोगिरहेका छन् । पानीको अभाव खेपिरहेका गाउँलेको संख्या वर्षेनी थपिँदै छ । स्थानीय नहर, कुवा तथा खोलाको धमिलो पानी उपभोग गर्छन् । खानेपानीको भरपर्दो व्यवस्था नहुँदा नगरका संगमबस्ती, दोमुखा र श्रीजंघा बस्तीका हजारौं स्थानीयले वर्षौँदेखि पिउने पानीको समस्या खेप्दै आएका छन् ।

संगमबस्तीका २ सय ५० घरका लागि स्थानीय दिलबहादुर खड्काको घरमा भएको ट्युवेलबाट निस्कने अप्रशोधित पानी उनीहरुको जीवनजल हो । यो समस्या हिमाल पहाडकाका दुर्गम बस्तीको भन्दा कम छैन । यहाँका स्थानीयले डोको, साइकल, मोटरसाइकल, ठेलाजस्ता साधनका माध्यमबाट गाग्रा, बोत्तल, जर्किनमा पानी हालेर घर सम्म ल्याउने गरेका छन् ।

कतिपय घरमा त बटुवाले पानी मागे दहीमही दिने गरेको स्थानीले बताएका छन् । ‘पहाडमा पिउने पानीको समस्या थिएन, प्रधानमन्त्रीको गृहजिल्लाका हामी पानी पिउन नपाएरै ज्यान जाने हो कि भन्ने लाग्छ’ –स्थानीय हर्कमाया अधिकारीले बताउनुभयो ।

हिउँद लागेसँगै पूर्वपश्चिम राजमार्गसँग जोडिएको संगमवस्ती, श्रीजंघा बस्ती र दोमुखामा खानेपानी समस्या देखिएको छ । ०४२ सालमा स्थापना भएको सतासीधाम खानेपानीका धारा सो बस्तीमा लथालिंग छ । डेढ सय परिवारलाई लक्षित गरी बनाइएको धारामा यति बेला कमिला कुदिरहेका भेटिनछन् । समितिले मैनाचुली सामुदायिक वनहातामा निर्माण गरेको रिजर्भ टंकीका लागि त्यहाँका उपभोक्ता वाट प्रतिघर १ हजार लिएको थियो ।


समितिका कार्यलय सचिव राजेन्द्र खड्काले ०७३ सालको बाढीपहिरोेले पानीको मुहान क्षतविक्षत हुने गरी भत्काएपछि त्यहाँका उपभोक्ताले पानी नपाएको जानकारी दिनुभयो । एक परिवारको पानी २ सय ५० घरका करिव १ हजार २ सय ५० जनाले बाँडेर खानुपरेको स्थानीय दलबहादुर न्यौपानेले बताउनुभयो । ‘धारामा पानी छैन । गाउँमा ९ महिना पानीको हाहाकार हुन्छ । यो भन्दा विकराल समस्या के होला ?’ उहाँको प्रतिपश्न थियो ।

‘मनसुन सक्रिय भएपछि गाउँका ट्युवेलमा पानी आउँछ, हिउँद लागेपछि अर्थात् असोज अन्तिमदेखि त्यही ट्युवेलको पानी पनि सुकिदिन्छ । निर्वाचनताका राजनीतिक दलका नेता र उम्मेदवारको मुख्य मुद्दा संगम बस्तीको खानेपानी समस्याको समाधान गर्ने हुन्छ, निर्वाचन जितेपछि खानेपानीको समस्या उनीहरुले बिर्सदिन्छन्’ –नेताहरुले यो समस्यामाथि राजनीति गरिरहेको उहाँको आरोप छ ।

हातगोडा लागेका सबै बिहान बेलुका पानी बोक्न तँछाडमछाड गर्छन् । स्कुले बालबालिका बिहान बेलुका पानी बोक्छन् भने उनीहरुका अभिभावक दिउँसो बोक्ने गर्छन् । खानेपानी हाहाकार भएको वस्तीमा पिउने पानीका दुईवटा योजना संचालन भएका छन ।

तीमध्ये एउटा सम्पन्न भएको छ भने अर्को निर्माणाधीन छ । संगमबस्ती खानेपानी योजना ४४ लाख खर्चेर दातृ संस्था फनवर्डले निर्माण गरेको थियो । तर, सो योजनाको पानीमा ९ प्रतिशत आइरन फेला परेपछि उक्त योजना बन्द भएको थियो । पानीको परिक्षण नै नगरी ट्यांकी निर्माण भएका थियो । निर्माण समितिका सचिव दलवहादुर न्यौपानेले फनवोर्डले झुक्याएर स्थानीयलाई पिउने पानीको कामै नदिने योजना निर्माण गरेको आरोप लगाउँनुभयो ।

त्यसैको नजिकै यतिवेला संगम खानेपानीको योजना निर्माणाधीन छ । केन्द्रीय सरकारको ससर्त अनुदानमा प्रदेश सरकारमार्फत उक्त योजना निर्माण भइरहेको छ । ९ करोडको क्रमागत बजेटमा यो अवधिसम्ममा १ करोड बराबरको काम सम्पन्न भएको छ ।