फोहर व्यवस्थापन नहुँदा बजार क्षेत्र दुर्गन्धित

0
Shares

विनोद सिंह विष्ट, बैतडी । फोहर व्यवस्थापन नहुँदा बैतडीको दशरथचन्द नगरपालिका वडा नं १ मुस्याचोर बजार क्षेत्र दुर्गन्धित बन्दै गएको छ । व्यापारीहरुले रतेडी सामुदायिक वनको क्षेत्रमा अव्यवस्थित रुपमा फोहर फाल्दा सो क्षेत्र दुर्गन्धित बन्दै गएको हो ।

व्यापारीहरुले कुहिने, नकुहिने सबै खालका फोहरहरु सो क्षेत्रमा फाल्दा जंगलतलतिर रहेका पानीका मूहान समेत दूषित बन्दै गएका छन् । वडा कार्यालयले फोहर व्यवस्थापनका लागि भन्दै डस्टबीन वितरण गरेको भएपनि व्यापारीहरुले जंगलमा फोहर फाल्न छोडेका छैनन् । व्यापारीहरुकै कारण बजार क्षेत्र कुरुप बन्दै गएको आरोप लाग्न थालेको छ ।

व्यापारीहरुले फाल्ने फोहरकै कारण मुस्याचोर बजार नजिकै रहेको पानीको धारा समेत दूषित हुन थालेको छ । यसका साथै तलतिर मानवबस्ती रहेकोले विभिन्न रोगको संक्रमण समेत देखिन सक्ने भएको छ ।

यो बिषयमा वडा नं १ का वडा अध्यक्ष भुवनराज भट्टले वडा कार्यालयले फोहर व्यवस्थापनका लागि डस्टबीन वितरण गरेको तर व्यापारीहरुले मनोमानी गरिरहेको बताउनुभयो । फोहर व्यवस्थापनमा व्यापारीहरुले सहयोग नगरे व्यापार व्यवसाय नवीकरण नगर्ने उहाँले चेतावनी समेत दिनुभएको छ । मुस्याचोर बजारको फोहर व्यवस्थापनका लागि छलफल गर्ने समेत उहाँले बताउनुभएको छ ।