प्रधानमन्त्री रोजगार कार्यक्रममा महिलाको उत्साहजनक सहभागिता

0
Shares

राजेन्द्र गजुरेल, नुवाकोट । जिल्लामा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी बन्दै गएको छ । यस कार्यक्रममा पुरुष भन्दा विशेष गरी महिलाको उत्साहजनक सहभागिता रहेको छ । पहाडि संरचना रहेको नुवाकोटमा हालको समयमा विशेष गरी गाउँपालिका स्तरमा ग्रामिण मोटर बाटो निर्माण तथा मर्मत सम्भारको कार्य र सार्वजनिक संरचनाको पुनस्थापनाका कार्यहरु भईरहेको छ ।

स्थानिय स्तरमा जनशक्तिको अभाव भईरहेको समयमा यस कार्यक्रमले स्थानिय ब्यक्तिहरु लाई तालिम दिई दक्षताको साथ कार्यलाई अगाडि बढाईएको छ । नुवाकोटको लिखु गाउँपालिका–५ कल्छेपाखास्थित फुटबल खेल मैदानको मर्मत तथा सम्भारका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमअन्र्तगत दश जनाले काम शुरु गर्नुभएको छ ।

दुई नगरपालिका र दश गाउँपालिका भएको नुवाकोटमा आफ्नै गाउँ ठाउँमा बसेर स्वरोजगार हुन पाउदाँ खुसि भएका छन । दैनिक बिहान १० बजेदेखि साँझ ५ बजेसम्म काम गरेवापत प्रति ब्यक्ती रु ६३० का दरले ज्याला दिइने गरेको छ । लिखु गाउँपालिका–५ का वडाध्यक्ष रामकृष्ण श्रेष्ठले गाउँपालिकामा रोजगार कार्यक्रमका लागि रु ११ लाख बजेट आएकोमा प्रत्येक वडालाई रु एक लाख ३५ हजार रकम विनियोजन गरिएको बताउनुभयो । वडा कार्यालयमा १३३ स्थानीयवासीले रोजगारका लागि निवेदन दिएका मध्ये १० जनालाई काममा लगाई प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु गरिएको श्रेष्ठले बताउनुभयो ।

खेलमैदान मर्मत सम्भारको काम सकिएपछि तिनै रोजगारदातालाई वडामा भत्काएका कुलो, धारा, खानेपानीका मुहान, सडक, बाटो, मठ मन्दिर, पाटीपौवा, विद्यालय, सार्वजनिक चौतारालगायतको मर्मत सम्भारका काममा लगाइने लिखु गाउँपालिकाको रोजगार संयोजक सोनु खनालले जानकारी दिनुभयो ।

त्यस्तै जिल्लाको पन्चकन्या गाउँपालिकामा पनि प्रधानमन्त्रि रोजगार कार्यक्रम शुरु भएको छ । गाउँपालिकाको वडा नम्बर २ कबिलासमा प्रधानमन्त्रि रोजगार कार्यक्रम अन्र्तगत बाटो खन्ने र सरसफाई गर्ने कार्यक्रम शुरु भएको छ । कार्यक्रममा १२ महिला र २ पुरुष गरि १४ जना सहभागी भएका छन् । कार्यक्रम अन्तरगत सहरेटार र मिश्रगाउँ जानेबाटो नाली खन्ने सरसफाईको काम शुरु गरिएको वडा कार्यालयले जनाएको छ । वर्खायाममा सडक अवरुद्ध हुने भएकोले समयमै नाली कटान थालिएको बताइएको छ ।

सहभागिहरुलाई विहान र दिउँसो गरी दुई समुहमा मिलाएर काम गराईएएको वडा कार्यालयले जनाएको छ । कार्यक्रम अन्तरगत गाउँपालिकालाई १० लाख रुपैयाँ आएको र सो मध्ये ५ लाख वडा नम्बर २ प्रधानमन्त्रि रोजगार कार्यक्रम अन्र्तगत छुट्टाइएको गाउँपालिका कार्यालयले जनाएको छ । साथै जिल्लाको अन्य स्थानमा पनि सो कार्यक्रम संञ्चालन हुने तयारीमा रहेको छ ।