उपराष्ट्रपति पुनद्वारा सनातन पूर्वीय दर्शन तथा सभ्यताको संरक्षण गर्न सरकारलाई सुझाव

0
Shares

चितवन । उपराष्ट्रपति नन्दबहादुर पुनले देशको विकासका लागि पर्यटन क्षेत्रको विकास गर्नुपर्ने बताउनुभएको छ । आज बिहान गलेश्वर आश्रममा आयोजित स्वागत कार्यक्रममा उहाँले धार्मिक पर्यटनको विकासमा सबै लाग्नुपर्नेमा जोड दिनुभएको हो । सनातन पूर्वीय दर्शन तथा सभ्यताको संरक्षण गर्न र देवघाट क्षेत्रको विकासका लागि प्राथमिकता दिन उपराष्ट्रपति पुनले सरकारलाई सुझाव दिने बताउनुभयो ।

उहाँले हरिहर सन्यास आश्रम, परमानन्द संस्कृत विद्यापिठ, वेनी सङ्गम, अघोर आश्रम, वशिष्ठ गुफा, सिता गुफा, सिद्धेश्वर शिवालय मन्दिर, गलेश्वर आश्रम, महेश सन्यास आश्रम, विध्येश्वर मन्दिर दर्शन गर्नुभएको थियो ।उपराष्ट्रपति पुनलाई देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिव पौडेलले देवघाट क्षेत्रको वस्तुस्थितिबारे जानकारी गराउनुभएको थियो ।

उहाँका अनुसार पहिलो पटक देवघाट पुग्नुभएका उपराष्ट्रपति पुनले यस क्षेत्रको विकासका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने जानकारी दिनुभएको छ । पाँचौँ अन्तर्राष्ट्रिय योग दिवसको विशेष कार्यक्रमलाई सम्बोधन गर्न बिहीबार चितवन आउनुभएका पुन आज काठमाडौँ फर्कने कार्यक्रम छ ।

रासस