विप्लवका जिल्ला इन्चार्ज मारिए

0
Shares

राज्यको विरुद्ध लड्नेलाई राज्यले बाँकी राख्दैन ः न्यौपाने, भिडन्त होइन, हत्या हो ः विप्लव समूह

मधुसूदन रायमाझी, काठमाडौं ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेल मारिएका छन्। प्रहरीले उनको मृत्यु भिडन्तमा भएको बताइरहेको छ भने नेकपाले हत्या भएको दाबी गरेको छ।

माओवादीद्वारा सृजित एक दशक लामो सशस्त्र द्वन्द्व शान्तिमा रूपान्तरण गर्ने काम जारी रहेकै बेला सर्लाहीको घटनाले पुनः देश द्वन्द्वमा जाने हो कि भन्ने आशंका जन्माएको छ। नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहलाई सरकारले प्रतिबन्धित घोषणा गरेपछि यसका सात नेता–कार्यकर्ता मारिइसकेका छन्।
शृंखलाबद्धरूपमा बम विस्फोटको घटना घटाएपछि सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएको थियो। प्रतिबन्ध लगाएपछि सर्लाहीको घटनासहित दुई जना विप्लव समूहका नेता मारिएका छन्। प्रहरीले विप्लव समूहका नेता र कार्यकर्ताको खोजी कार्य तीव्र बनाएको छ। केही साताअघि मात्र राजधानीमा शृंखलाबद्धरूपमा बम विस्फोट गराउने तयारीमा रहेका विप्लव समूहका पाँच जनाको ज्यान गएको थियो।

नेकपा नेतृत्वको सरकारले विप्लव समूहलाई पटक–पटक वार्तामा आउन आग्रह गर्दा पनि अस्वीकार गरेको भन्दै प्रतिबन्ध लगाउने घोषणा गरेको थियो। प्रतिबन्ध लगाए पनि नेपाल बन्द गर्ने र ठाउँठाउँमा बम विस्फोट गराउने शृंखलालाई विप्लव समूहले निरन्तरता दिँदै आएको छ। विप्लव समूहमाथि कठोर नीति लिएको सरकारले विप्लवका दर्जनौं नेता तथा कार्यकर्तालाई पक्राउसमेत गरेको छ। बुधबार मात्र प्रहरीले विप्लव समूहका पाँच जना नेताहरूलाई पक्राउ गरेको थियो।

नेकपाका नेता लेखनाथ न्यौपानेले राज्यका विरुद्ध लड्ने शक्तिविरुद्ध राज्यले पनि प्रत्याक्रमण गर्ने विश्वव्यापी मान्यता रहेको बताउनुहुन्छ। उहाँले भन्नुभयो– ‘राज्यलाई कुनै शक्तिले घोषितरूपमा चुनौती दिएर राज्यलाई मान्दिनँ भन्यो भने राज्यले पनि शक्ति प्रयोग गरेर नियन्त्रण गर्छ।’ ‘कानुनी राज्यमा संविधान र कानुनभन्दा माथि गएर समातेर मारिएको हो भने त्यो निन्दनीय कार्य हो, दोहोरो भिडन्तको बारेमा भ्रम नरहने गरी प्रहरीले पुष्टि गर्नुपर्छ।’ –उहाँले भन्नुभयो।

नेपाली कांग्रेसकी नेतृ डिला संग्रौलाले सरकारले प्रतिबन्ध लगाएको विप्लव समूहसँग वार्तामार्फत समस्याको समाधान गर्नुपर्ने बताउनुहुन्छ। उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘देशले सधैं द्वन्द्व झेल्न सक्दैन, दश वर्षे सशस्त्र युद्ध शान्तिमा रूपान्तरण भएको छ, अब फेरि द्वन्द्व हुने हो भने देशले थेग्न सक्दैन।’ सरकारले गम्भीर भएर संवादमार्फत राजनीतिकरूपमा समस्या समाधान खोज्नुपर्ने उहाँको भनाइ छ।

यसअघि पहिलो पटक ८ जेठमा भोजपुरको ट्याम्के मैयुम गाउँपालिका–१ को मैयुमडाँडामा रहेको धोद्रे जंगलमा प्रहरीको मुठभेडमा परेर विप्लव समूहका एक जना कार्यकर्ताको मृत्यु भएको थियो। प्रहरीले गोली हानेर समात्ने क्रममा तीर्थराज घिमिरे गम्भीर घाइते भएका थिए। तर, उपचारका क्रममा उनको मृत्यु भएको थियो।

कुमार पौडेलका सम्बन्धमा नेकपा चन्द समूहले प्रहरी चोकी वा प्रहरीमाथि आक्रमण गर्ने पार्टीको नीति नभएको जनाउँदै दोहोरो भिडन्त भन्ने सरकारको दाबी आधारहीन भएको जनाएको छ।

प्रहरीको भनाइ

लालबन्दी नगरपालिका–१ बाट मोटरसाइकल चढेर सिन्धुलीतर्फ जाँदै गरेका विप्लव कार्यकर्ता र प्रहरीबीच बिहीबार दिउँसो गोली हानाहान हँुदा विप्लवका जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्यु भएको प्रहरीले दाबी गरेको छ।

पाँच जनाको समूहमा रहेका विप्लव कार्यकर्तामध्ये एक जनाको मृत्यु भएको र अरू चार जना भागेको सर्लाहीका प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले जानकारी दिनुभयो। मृतकको साथबाट प्रहरीले एक थान पेस्तोल, कटुवा पेस्तोल एक थान, विस्फोटक पदार्थ र मोटरसाइकल बरामद गरेको जनाएको छ।
गोली हानाहानमा अरू पनि घाइते भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। पूर्वपश्चिम राजमार्गबाट करिब ३ किलो मिटर उत्तरमा रहेको लखन्देही खोलाको भित्तामा भिडन्त भएको बताइएको छ। मृतकको शव परीक्षणका लागि जिल्ला अस्पाताल मंलगवामा राखिएको छ।

साविक सर्लाही ढुंग्रेखोला गाविस हाल बागमती नगरपालिका–२ धरहरा घर भएका पौडेल नेपाली कांग्रेस, नेकपा एमाले हुँदै २०६४ सालमा चुरेभावर पार्टीका जिल्ला अध्यक्ष बनेका थिए।

त्यसपछि नेकपा माओवादी प्रवेश गरेका पौडेल मोहन वैद्य किरण नेतृत्वको माओवादी हुँदै विप्लव नेतृत्वको नेकपामा प्रवेश गरेपछि भूमिगत भएका थिए।