सात तले दरबार पुनर्निर्माण सुरु

0
Shares

राजेन्द्र गजुरेल,नुवाकोट । भुकम्पले क्षति ग्रस्त बनाएको नुवाकोटको सात तले दरबारको पुनर्निर्माण सुरु गरीएको छ ।

२०७२ सालमा गएको भुकम्पले क्षतिग्रस्त भएका दरबार सहित दरबार क्षेत्रभित्रको गारद घर, रंगमहल, बहादुर शाहको बैठक कक्षलगायत दरबार क्षेत्रभित्र रहेको विष्णु र नारायण मन्दिरको पुनर्निर्माणको कार्य चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेजले पुनर्निर्माण थालेको दरबार हेरचाह कार्यालयले जनाएको छ । साथै आसपासमा रहेको सेतोपाटी र लामपाटी पनि चीन सरकारकै सहयोगमा बनाइने भएको छ ।

नुवाकोटको ऐतिहासिक र पर्यटकिय क्षेत्र दरबारको पुनर्निर्माणको लागि नेपाल कम्युनिस्ट पार्टीका नेता तथा तत्कालीन परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको पहलमा चीनका राजदूतसहितको टोलीले सात तले दरबार राष्ट्रिय संग्रहालय पुगेर दरबार मर्मतको प्रतिबद्धता जनाएको थियो ।

भूकम्पले दरबार लगायतका सम्पदाहरूमा क्षति पुगेको थियो । विनाशकारी भूकम्पले दरबार क्षतिग्रस्त बनाएपछि चीन सरकारले गत २०७२ साल साउन महिनामा मर्मत गर्ने प्रतिबद्धता जनाएको थियो ।

दरबार तथा सम्पदा पुनर्निर्माणको लागि चिनियाँ प्राविधिकहरूले पटक–पटक दरबार क्षेत्रको निरीक्षण गरेको थियो । चिनियाँ प्राविधिक टोलीले सात तले दरबारको स्थलगत रुपमा ड्रोन क्यामेरामार्फत निरीक्षण गरेको थियो ।