वीरगन्जको भंसार जाँच चौकी परिसरमा दुई शव भेटियाे


कृष्णउदास खनाल, वीरगन्ज ।
वीरगन्जमा रहेको संयुक्त भंसार जाँच चौकी (आइसिपी) परिसरमा एक ट्रक चालकको मृत्यु भएको छ।  भारतबाट सामान लिएर आएका चालकको आइतबार बिहान आइसिपी गेटभित्रै मृत्यु भएको हो।

मृत्यु हुने भारतको बिहार छाप्रा जिल्ला सीमान–१ का करिब ४५ वर्षीय महन्थ यादव रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। आईसीपी गेटभित्र पार्किङ गरी राखेको डब्लु बी ११ बी ५४१० नम्बरको ट्रकको छेउमा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

गर्मीका कारण गाडीमाथि सुतेका उनी निन्द्रामा खसेर मरेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिनुभयो । शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।त्यसैगरी वीरगन्ज महानगरपािलका–२, छपकैयामा अर्को शव फेला परेको छ ।

छपकैयास्थित पोखरीको छेउमा एक पुरुषको शव भेटिएको हो । उनको परिचय खुलेको छैन ।