अरेबियन सागरको वायु नभित्रिँदा बढ्यो गर्मी


टीका बन्धन, काठमाडौं
मनसुन पूवाद्र्ध (प्री मनसुन) लाई सक्रिय गराउने अरेवियन सागरको वायु सोही सागरमा विकसित भएको ‘वायु’ नामक चक्रवादले उतै रोकिएपछि मुलुकभर गर्मी बढेको छ ।

मुलुकको दक्षिण पश्चिमी भेगबाट भित्रिने अरेवियन सागरको वायु उतै छेकिँदा र मनसुनी गतिविधि भित्रिँन ढिलो हुँदा गर्मी बढेको हो । ‘चार पाँच दिन अघिदेखि अरव सागरमा वायु नाम गरेको चक्रवात विकसित भएको छ, सो चक्रवादले नेपालतर्फ आउने जलवाष्पयुक्त हावा छेकेको छ, मौसमविद् मीनकुमार अर्यालले भन्नुभयो–‘मनसुन भित्रिँन ढिलो हुँदा पनि अहिले गर्मी बढेको हो ।’

भारतको दक्षिण भेगको केरला, तामिलनाडुमा मनसुन शुरु भइसकेपनि त्यसको प्रभाव नेपाल भित्रिन अझै केही दिन कुर्नुपर्ने उहाँले बताउनुभयो । भारतको असाम र बंगलादेशको आंशिक क्षेत्रमा पनि मनसुनी प्रभाव देखिएको बताउँदै अर्यालले भन्नुभयो–‘सामान्यता केरलामा मनसुन शुरु भएको १० दिनपछि त्यस्तो प्रभाव नेपालमा देखिनुपर्ने हो, तर अहिलेको अवस्था नियाल्दा केही दिन कुर्नैैपर्छ ।’

दक्षिण भारत हुँदै फैलिने मनसुन म्यानमार, भारतकै कोलकाता, सिक्किम, बंगलादेश हुँदै नेपालको पूर्वी भेगबाट भित्रिने गर्छ । सामान्यता अंग्रेजी महिनाको मे ३० तारिख आसपासमा शुरु हुने मनसुन गत वर्ष चार दिन अगावै मे २६ तारिखमा शुरु भएको थियो । यस वर्ष धेरै ढिलो जुन ८ तारिखमा मात्रै मनसुन सक्रिय बनेको जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो ।

मनसुन र प्री मनसुन गतिविधी कमजोर हुँदा मध्य र पश्चिम तराईको तापक्रम निकै बढेको छ । केही दिनयता दिपायल, धनगढी, नेपालगञ्ज, भैरहवा र आसपासका भेगको तापक्रम ४० डिग्री माथि छ । शनिवार भैरहवाको तापक्रम सबै भन्दा बढी ४३ दशमलव ३ डिग्री सेल्सियस मापन भएको महाशाखाले जनाएको छ । दिपायल र नेपालगञ्जको समान ४३ डिग्री र धनगढीको ४२ दशमलव ५ डिग्री पुगको छ ।

दाङको ३९ दशमलव ९, विरेन्द्रनगरको ३९ दशमलव ६, सिमराको ३९, जनकपुरको ३८ दशमलव २ मापन भएको छ । शुक्रवारको तुलनामा काठमाडौं र विराटनगरको तापक्रम भने केही घटेको छ । शुक्रवार विराटनगर र काठमाडौंको अधिकतम तापक्रम ३८ र ३३ दशमलव ५ डिग्री मापन भएकोमा शनिवार विराटनगरको ३४ दशमलव ५ र काठमाडौंमा ३३ डिग्री मापन भएको महाशाखाले जनाएको छ ।

सोमबार बेलुकादेखि पश्चिमी वायुको प्रभाव भित्रिने गतिविधी विकास भइरहेकाले मध्य र पश्चिम तराईका भेगमा गर्मी केही हदसम्म घट्न सक्ने मौसमविद् नगरकोटीले बताउनुभयो ।

गर्मी घट्न मनसुन नै चाहिन्छः बरिष्ठ मौसमविद् शाक्य


हिजो–आज गर्मी निकै बढिरहेको छ, किन होला ?
गर्मी केही हदसम्म बढेको हो तर अहिलेको गर्मी अस्वभाविक भने होइन । बैशाख, जेठ, असारलाई हामीले गर्मी महिनाका रुपमा बुझ्दै आएका छौ त्यसैले अहिले भएको तापक्रम बृद्धिलाई अस्वभाविक मान्न हुँदैन । अहिलेको समयको विशेषता नै यस्तै हो । गर्मी समयमा काठमाडौं उपत्यकाको तापक्रम ३५ डिग्री हाराहारी पुगेको रेकर्ड पनि छ, नेपालगञ्ज, धनगढी लगायत तराईका धेरै जिल्लाको तापक्रम ४० डिग्री माथि नै हुन्छ । मनसुन सक्रिय हुन गर्मी आवश्यक हुन्छ ।

गर्मी घट्न मनसुन नै शुरु हुनुपर्ने हो ?
पक्कै पनि, मनसुन शुरु भएपछि गर्मी केही हदसम्म घट्छ । मनसुनले पर्याप्त मात्रामा जलवाष्पयुक्त हावा भित्र्¥याउँछ, वायुमण्डलमा बादल विकास हुन्छ । त्यसैले गर्मी घट्न मनसुन शुरु हुनुपर्छ, त्यसका लागि केही दिन कुर्नै पर्छ ।

मनसुन शुरु हुन किन ढिलो भइरहेको छ ?
सामान्यतया अंग्रेजी महिनाको जुन १० तारिख हाराहारीमा मनसुन नेपाल भित्रिनुपर्ने हो । विगत १०÷१२ वर्षयताको रेकर्ड नियाल्ने हो भने मनसुनी क्यालेन्डर धकेलिन थालेको छ । मनसुन ढिलो गरी शुरु हुने गरेको छ । नेपालमा मात्रै होइन, समग्र दक्षिण एसियामा यस्तो प्रभाव देखिन थालेको छ । ढिलो शुरु हुने मनसुन ढिलै गरी निस्कृय हुन थालेको छ । सेप्टेम्बर चौथो साताभित्रै निस्कृय हुनुपर्ने मनसुन अक्टोबरमा मात्रै निस्कृय हुन थालेको छ ।

मनसुनी क्यालेन्डर किन धकेलिन थालेको हो ?
विश्वव्यापी तापमानमा भइरहेको बृद्धिको असर मनसुनी क्यालेन्डरमा समेत परेको छ । हिन्द, प्रशान्त महासागर, अरेवियन सागर सहित आसपासको मौसमी वस्तुस्थिती विश्लेषण गरेर नेपाल सहित दक्षिण एसियामा मनसुनबारेको दृृष्टिकोण सार्वजनिक हुँदै आएको छ । प्रशान्त महासागरको पूर्वी भेगको पानी औसत भन्दा बढी तात्ने प्रकृया (एलनिनो) र औसत भन्दा कम चिसिने प्रकृया (ल्यालिना)ले गर्दा मनसुनी क्यालेन्डर प्रभावित हुने गरेको छ ।