तरकारी खेतीमा मस्त पूर्व माओवादी नेता


विमल विष्ट, डोटी ।
कुनै बेला बम र बन्दुक बोकेर जनयुद्ध लडेका डोटीको साविकको तिखात्तर गाबिस ४ गणेशकाडा (हाल केआईसिंह गाउपालिका वडान. १) का ७२ वर्षीय माओबादी नेता प्रताब पुनमगर हिजो आज तरकारी खेतीमा ब्यस्त हुनुहुन्छ ।

डोटीको दिपायल स्थित पिपल्ला बजारमा उहाँले ३ रोपनी जमिन भाडामा लिएर तरकारी खेती सुरु गर्नु भएको हो । राजनितीले मात्रै खान लाउन र परिवार पाल्न नसकिने भएपछि तरकारी खेती सुरु गरेको नेता पुनमगरले बताउनुभयो । उहाँले भन्नुभयो, “निस्वार्थ रुपमा राजनिती गर्दा पेट र परिवार पाल्न गारो भयो,परीवार र पेट पाल्नकै लागि भएपनि तरकारी खेती सुरु गरे ।” उहाँको वारीमा अहिले मौषमी तथा बेमौषमी तरकारीले भरीभराउ भएको छ ।

तरकारी खेती बाट राम्रै आम्दानी हुन थालेको नेता पुन मगरले बताउनुभयो । बिगतमा आफुले लडेको जनयुद्ध सम्झिदै नेता पुनमगरले भन्नुभयो, “प्रचण्ड र बाबुरामले हामीलाई प्रयोग गरे,अहिले बिच बाटोमै अल्पत्र पारे ।” आफु संङ्ग रगत र तागत भएका बेलामा गाउँ गाउँमा गएर संङ्गै जनयुद्ध लडेका आमोबादी केन्द्रिय नेताहरु प्रचण्ड,बाबुराम लगायतका अन्य नेताहरुले अहिले आफनो अवस्था घटेका बेलामा फोन गर्न देखी भेट्न सम्म नआउने गरेको भन्दै नेता पुनमगरले दुःखेसो पोख्दै भन्नु भयो,

“अरुको त कुरो छोडौ,संङ्गै गाउँ गाउँ र जंङ्गल जंङ्गल हिडेका सहपाटी लेखराज भट्टले पनि माया मार्नु भयो,रातदिन चिल्लोकारमा दिपायल आउनुहुन्छ तर भेट कहिल्यै गर्नु हुन्न ।” गम्भिर मुद्रमा उहाँले थप भन्नुभयो “कम्युनिटहरुको कुर्सिले पनि नजिक र टाढा अनि धनी र गरीब भन्दो रहेछ ।” तरकारी खेती बाट नेता पुन मगरले मासिक रु ३० हजार आम्दानी गर्ने गरेको बताउनुभयो ।

उहाँले तरकारी खेती गरेर ८ जनाको परिवारलाई राम्रै संङ्ग पाल्दै आउनु भएको छ । राजनिती संङ्ग संङ्गै आफनो उद्यम पनि गर्नु पर्ने बताउदै नेता पुन मगरले भन्नुभयो, “जिन्दगी भरी अर्काकैलागि झोला बोकेर पेट पालिदैन, मेहनेत र परिश्रमपनि गर्नुपर्छ ।” रु १ लाख ऋण निकालेर तरकारी खेतीको सुरुवात गरेका नेता पुनमगरले अहिले करिब करिब ऋण चुक्ता गरी सकेको बताउनुभयो । सरकारले दिने अनुदानको ऋणमा ५० बर्ष भन्दा माथी उमेरका लाई नदिने भन्ने प्राबधान प्रति उहाँले खरो शब्दमा भन्नुभयो, “के ५० वर्ष माथीको ब्यक्ति नेपाली नागरकि होकी हाईन,उस्को भोट चल्छकी चल्दैन,काम गर्छु भन्दा त पैसो देउ ।”

उहाँको बारीमा अहिले तरकारी किन्नेको घुईचो लाग्ने गर्दछ । उहाँको बारीमा अहिले भिण्डी,काउली,बन्दा गोभी,टमाटर,धनियो,आलु,मुला,काक्रा,सिम्ला लगायतका बिभिन्न तरकारीहरुले भरीभराउ भएको छ । दैनिक जसो बारीमा खटिदा समेत बजारमा तरकारीको पुर्ति गर्न नसकिएको बताउदै नेता पुनमगरले भन्नुभयो, “बजारमा तरकारीको निकै ठुलो माग छ,जती भएपनि आपुर्ति गर्नै सकिदैन ।”

बाथ,चर्म,हर्निया लगायतका रोगले पिडित भएका नेता पुनमगर भन्नुहुन्छ, “म रोगी बुढोले त मेहनेत गरेर पैसा कमाउन सकेको छु भने,स्वस्थ युवाले किन पैसा कमाउन सक्दैनन्,मेहनेत गर्नुहोस घरैमा सुन फल्छ,बिदेश जानु पर्दैन् ।” दिपायलमा पानी अभाबका कारण बारीमा लगाएको तरकारी सुक्ने र कुहिने गरेको उहाँले बताउनुभयो ।