प्रमुखविहीन इलाका प्रशासन, नागरिक सास्तीमा


विनोद सिंह विष्ट, बैतडी ।
ग्रामिण क्षेत्रका नागरिकलाई गाउँमै सेवा दिने उद्देश्यले स्थापना भएको बैतडीको पुर्चौडी नगरपालिका हाटमा रहेको इलाका प्रशासन कार्यालय प्रमुखविहीन भएको छ ।

कार्यालय प्रमुख जयबहादुर कुवँरको सरुवा भएपछि एकहप्तादेखि इलाका प्रशासन कार्यालय प्रमुखविहीन भएको हो ।
कार्यालय प्रमुख नहुँदा सेवाग्राही समस्यामा परेका छन् । सरकारले पुर्चौडी नगरपालिका, डिलासैनी गाउँपालिकाका केही वडाका बासिन्दाको सहजताका लागि तीन वर्षअघि इलाका प्रशासन कार्यालय स्थापना भएको थियो । कार्यालय प्रमुख नहुँदा नागरिकतालगायत त्यहाँबाट हुने कामका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता आएको छ ।

नेपाली नागरिकता, नाबालक लगायतका सिफारिसको लागि सदरमुकाम धाउनुपर्ने बाध्यता आएको छ । ‘नागरिकताका लिन सदरमुकाम धाउनुपर्छ,’ स्थानीय जनक भट्टले भन्नुभयो, ‘सदरमुकाम पुग्नुपर्ने पुरानै अवस्था आउँदा समस्या भएको छ ।’

सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालयले नयाँ नागरिकता मात्र जारी गर्दै आएको छ । नागरिकताको प्रतिलिपि बनाउन भने समस्या छ । प्रतिलिपिको लागि सबै विवरण, फाइल इलाका प्रशासनमा रहेकाले सदरमुकामबाट प्रतिलिपि दिन नसकिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताउनुभयो । कार्यालय स्थापना भएपछि पुर्चौडी क्षेत्रका बासिन्दाका सबै विवरण इलाका प्रशासनमा पठाइ सकेकाले यस्तो समस्या आएको हो । अधिकारप्राप्त अधिकृत नहुँदा इलाका प्रशासनबाट नागरिकता दिइँदैन । यसले सर्वसाधारणलाई नागरिकता लिन समस्या र झण्झटिलो भएको छ ।

गाउँमै नागरिकता पाउँदा स्थानीय हर्षित थिए तर पहिलेकै सदरमुकाम धाउनुपर्ने बाध्यता आएपछि सास्ती भोग्न बाध्य भएको पुर्चौडी नगरपालिका–७ का गणेशबहादुरी ऐरले बताउनुभयो । ‘सिंहदरवार गाउँमै आयो भन्छन्,’ उनले भने, ‘यहाँका स्थानीय नागरिकताकै लागि जिल्ला दौडनुपर्ने अवस्था छ ।’
इलाका प्रशासन कार्यालय स्थापना भएको सुरुदेखि नै कर्मचारी अभाव थियो ।

एक जना अधिकृत, तीन जना नासु, एक जना सह लेखापाल र एक जना सहायक कम्प्युटर अपरेटरको दरबन्दी रहेको छ । एक जना कार्यालय प्रमुख, एक नासु र एक कार्यालय सहायकको भरमा कार्यालय सञ्चालनमा थियो । तर अहिले कार्यालय प्रमुख नै नभएपछि नागरिकता लिन आएका स्थानीय खाली हात फर्कनु परेको कार्यालय सहायक दीपा भण्डारीले बताउनुभयो ।

कर्मचारीको समयोजनपछि समस्या आएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताउनुभयो । ‘तत्काल कार्यालय प्रमुख पठाउन सकिने अवस्था छैन,’ उहाँले भन्नुभयो भने ‘प्रमुखको लागि गृह मन्त्रालयमा लेखी पठाएका छौं, उताबाट पठाए मात्र कार्यालय प्रमुख आउन सक्छन् ।’ उहाँले भन्नुभयो ’समायोजनमा इलाका प्रसासन कसैको रोजाई परेन, जिल्ला प्रसासनमा पनि कर्मचारी अभाव छ पठाउन सकिने अवस्था छैन् ’

अधिकृत अभावमा इलाकाको काम जिल्लाबाटै हुने गरेकाले यहाँका सर्वसाधारणलाई सास्ती भएको पुर्चौडी नगरपालिका–१ का वडाध्यक्ष गणेशबहादुर गडालले बताउनुभयो । इलाका प्रशासन कार्यालय स्थापना भएदेखि अधिकृत नजाँदा यस्तो अवस्था आएको हो । तीन वर्षअघि निकै तामझामसाथ इलाका प्रशासन कार्यालय स्थापना भएको थियो । कार्यालय स्थापना हँुदा गाउँमै सुविधा पाउने भन्दै स्थानीय खुसी भएका थिए । तर त्यो खुसी लामो समयसम्म रहन सकेन ।

संघीयतापछि ससानो कामका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता छ । अधिकांश स्थानीय तहमा कर्मचारी र बैंकिङ कारोबार नहुँदा सेवाग्राही सदरमुकाम धाउन बाध्य छन् । स्थानीय तहमा खुलेका बैंकले पनि भरपर्दो सेवा दिन नसक्दा सदरमुकाम पुग्नुपर्ने बाध्यता हट्न सकेको छैन ।

सदरमुकाम आउन डेढ दिन लाग्ने उक्त क्षेत्रका साविकका एक दर्जन गाबिसका झण्डै ६० हजार बासिन्दाले लाभान्वित हुने गरे वि स २०७३ सालमा इलाका प्रसासान कार्यालय स्थापना गरिएको हो ।