गुठी विधेयकको विरोधमा नेपाली कांग्रेस (विपी) पनि


काठमाडौं ।
नेपाली कांग्रेस (विपी) ले गुठी विधेयकको विरोध गरेको छ । सरकारले संसद सचिवालयमा दर्ता गरेको विधेयकले गुठीलाई मास्ने काम गरेको भन्दै उसले आपत्ति जनाएको छ ।

आज एक विज्ञप्ति प्रकाशित गरी पार्टीले सरकारलाई तत्काल विधेयक फिर्ता लिन र गुठी बचाउनसमेत माग गरेको छ । पार्टी महामन्त्री सुशीलमान शेरचनद्धारा प्रकाशित विज्ञप्तिमा गुठी र गुठियारलाई राज्यले कुनै सहयोग नगरेको अवस्थामा पनि उनीहरु आफ्नै ढंगले चल्दै र चलाउँदै आएकामा गुठीलाई प्राधिकरण मातहत राख्ने निर्णयले गुठीको मर्ममाथि प्रहार गरेको जनाइएको छ । संसदबाट पारित भएर विधेयक लागू भएमा बौद्ध धर्मका गुम्बाहरुका अधिनमा रहेका चल अचल सम्पत्ति, मुस्लिम समुदायका मस्जिदमा सरकारको नियन्त्रण हुने भन्दै पार्टीले विधेयकको विरोध गरेको छ ।

उसले सो संस्थाहरुमा राजनीतिक प्रभाव पारी नेकपा कार्यकर्ताको नियन्त्रमा जाने खतरा समेत औल्याएको छ । पार्टीका नेता तथा कार्यकर्ताले आज काठमाडौंमा विरोध ¥यालीसमेत निकालेका छन् । नेपालका संस्कृति, जात्रा तथा पर्व हेर्न विदेशबाट धेरै पर्यटकहरु आउने गरेकाले गुठीसम्बन्धी नयाँ व्यवस्थाले बैदेशिक मुद्रासमेत नआउने पार्टीको ठहर छ । निजी गुठीलाई सरकारी बनाउँदा संरक्षण कसले गर्छ भन्ने प्रश्नसमेत उठाइएको छ ।

गुठीसम्बन्धी विधेयकको विरोधमा गत आइतबार माइतिघरमा शान्तिपूर्ण आन्दोलनमा सहभागी भएका प्रदर्शनकारीमाथि प्रहरीले गरेको लाठीचार्ज र दमनको पनि पार्टीले विरोध गरेको छ । घाइतेको उपचार सरकारले गर्नुपर्ने भन्दै उसले पक्राउ परेका प्रदर्शनकारीको रिहाई गर्नसमेत सरकारसँग माग गरेको छ ।

गुठी विधेयक खारेज गर्न सरकारमाथि तीव्र दबाब(भिडियोसहित)