राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कार्यकारी प्रमुख केशवकुमार बिष्टको पदावधि आगामी असार ९ गते सकिँदै छ । चार वर्षे कार्यकालपछि राखेपमा नयाँ नेतृत्व आउनु कुनै नौलो कुरा होइन् । राखेप नेपाली खेलकुदको नेतृत्वदायी निकाय भएकाले नयाँ आउने सदस्यसचिवको विषयमा विभिन्न कोणबाट चर्चा परिचर्चा हुनु पनि स्वभाविक नै हो । किनभने नयाँ आउने सदस्यसचिवको खेलप्रतिको दृष्टिकोण, उनले बनाउने योजना, कार्यशैलीजस्ता कुराले नै मुलुकको खेलकुद क्षेत्रको भविष्य निर्धारण गर्ने हो ।
त्यसो त राष्ट्रिय खेलकुद परिषद्ले अहिलेसम्म थुप्रै सदस्यसचिव पाइसकेको छ । यसबीच कुन–कुन सदस्यसचिवले कस्तो काम गरे भन्ने कुरा पनि चर्चाको विषय बन्नुपर्छ । २०७२ मा राखेप सदस्यसचिवको रुपमा केशवकुमार बिष्टको उदय भएको हो । वास्तवमा सदस्यसचिवको रुपमा खासै चर्चामा नरहेका बिष्टको राखेपमा प्रवेश धेरैका लागि अप्रत्यासित घटना थियो । उनी निकै असहज परिस्थितिबीच सदस्यसचिवको जिम्मेबारी वहन गर्न आएका थिए । राखेपमा उनको प्रवेशले नेपाली खेलकुदमा ठुलै हलचल ल्याएको थियो । बिष्टलाई सदस्यसचिवमा नियुक्त गरेकै कारणले तत्कालिन युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले आफ्नो पदसमेत गुमाउनु परेको थियो ।
सदस्यसचिवमा नियुक्त भएको लामो समयसम्म विपक्षीमात्र नभई आफु सम्बद्ध राजनीतिक दलबाटै पनि उनको विरोध जारी रह्यो । यस्तै असहज परिस्थितिबीच बिष्टले आफ्नो कार्यकाल नेपाली खेलकुदका लागि ‘स्वर्णीम काल’ हुने घोषणा गरे । त्यतिबेला उनले अघि सारेको ‘स्वर्णीम काल’ को नारालाई धेरैले हावादारी गफको सँज्ञा पनि दिन भ्याए ।
तर, असहज परिस्थितिबीच आफ्नो चार वर्षे कार्यकालको उत्तरार्धमा आइपुग्दा ‘स्वर्णीम काल’ सही सावित गरेर देखाएको दावी गर्ने उनै सदस्य सचिव विष्टसंग उनको कार्यकालबारे नेपाल समाचारपत्रका लागि कविरस शर्मा ले गरेको कुराकानी :
नेपाली खेलकूदमा चार वर्ष नेतृत्व लिंदाको अनुभव कस्तो रह्यो?
मैले सुरुमै मेरो कार्यकाल नेपाली खेलकूदका लागि स्वर्णिम काल हुने घोषणा गरेको थिए । त्यसलाई नै ब्यवहारमा उतार्न मेरो क्षमता, दक्षता, अनुभव सबै कुरा इमान्दारिकता साथ लगाए । पहिला चाहिँ मैले मात्र भन्थे तर अहिले मन्त्रीदेखि खेलाडीहरु सबैले यो कुरा भन्न थालेका छन् । खेलकूदमा ब्याप्त थुप्रै विवाद, विसंगति र विकृतिलाई धेरै हदसम्म निर्मूल ग¥यौं ।
प्रतियोगिता आयोजना पनि वृद्धि ग¥र्यौ । पूर्वाधार विकासको कुरा गर्ने हो भने विगत ५० वर्षको अवधिमा बनेकालाई बितेको ५ वर्ष भित्र बनेका पूर्वाधार संख्याले उछिनेको छ । अन्तर्राष्ट्रिय पदक संख्यामा ब्यापक सुधार भएको छ । अझै पनि कतिपय कामहरु सुरुवात गर्ने अन्तिम तयारीमा छौं । त्यो केहि समयपछि सार्वजनिक पनि हुन्छ । नेपालको खेलकूद क्षेत्रले अहिले जसरी प्रगति गरेको छ, त्यो अरु कुनै पनि क्षेत्रमा देखिँदैन ।
तपाईको नेतृत्वमा नेपाली खेलकूदले हासिल गरेको प्रमुख उपलब्धिहरु के–के हुन ?
उपलब्धिहरु त थुप्रै छन् । मुख्यतः दुई वटा राष्ट्रिय प्रतियोगिता मेरो नै कार्यकालमा भयो । विगत ३३ वर्षमा एउटै सदस्य सचिवको कार्यकालमा दुई वटा राष्ट्रिय प्रतियोगिता हुन सकेको थिएन । मेरो ४८ महिने अवधिमा राष्ट्रिय खेलकूद परिषदले ३३ वटा राष्ट्रिय प्रतियोगिता आयोजना गरेको छ । यो ऐतिहासिक नै हो । खेलाडीलाई मासिक रुपमा प्रोत्साहन भत्ताको सुरुवात गरे ।
जुनियर (अन्डर–१४) राष्ट्रिय प्रतियोगिताको पनि सुरुवात गरेका छौं । अपाङता भएकाहरुका लागि राष्ट्रिय प्रतियोगिताको पनि सुरुवात ग¥र्यौ । दक्षिण एसियामा तेस्रो लिंगीलाई खेलकूदसंग जोड्ने गर्ने पहिलो राष्ट्र नेपाल बनेको छ । नेपालमा स्पोर्ट्स विश्वविधालय खोल्न नेपाल सरकार समक्ष प्रस्ताव गर्ने पहिलो सदस्य सचिव पनि मै हुँ । आकारमा सानो नै भएपनि स्पोर्ट्स हस्पिटलको निर्माण पनि मेरै कार्यकाल भएको छ ।
सुरुमै ’स्वर्णिम काल’ हुने घोषणा गर्नुभएको थियो । कति सफल हुनुभयो ?
पहिले चाहिं मैले मात्र भन्थे तर अहिले सबैले भन्न थालेका छन् । यही नै सफलताको मापदण्ड हो । स्वर्णकाल भनेको सुन नै सुन देखिने होईन, यो त अनुभूति गर्ने कुरा हो । सबैसँग मेलमिलाप, शान्ति, खेलाडीहरूले राहत महसूस गर्ने, खेलकूदको विकास हुने, अन्तर्राष्ट्रिय पदकहरु धेरै प्राप्त गर्ने, प्रतियोगिताहरु नियमित हुने जस्ता यावत कुराहरुले नै स्वर्ण काल हुने हो । मेरो कार्यकालमा खेलकूदमा कहीं कतै पनि तालाबन्दी, हड्ताल, झैझगडा, विवाद भएन । हिजोका दिनमा विवादका कारण उपद्रो गरेर सुरक्षाका लागि प्रहरी नै तैनाथ गर्नुपरेको अवस्था पनि मैले समाप्त गरे ।
अराजक त्यस्ता ब्यक्तिहरु आज शान्त र भलादमी भएका छन् । सुरक्षाका लागि प्रहरी नराखी काम गर्ने सदस्य सचिव म नै हूँ । यसअघिका कतिपय घटनामा त कयौं दिनसम्म प्रहरीले भरिएको ट्रक सुरक्षाका लागि तैनाथ गरिनु पथ्र्यो । मैले आफ्नो कार्यकालमा त्यस्तो अवस्था आउनु नै दिएन । रातिसम्म पनि आफ्नो कार्यालयमा रहँदा भयमुक्त आभाष हुन्छ । मेरो कार्यकालमा खेलकूद परिषद् त मन्दिर जस्तै शान्त र पवित्र भएको छ । त्यसैले यसलाई स्वर्ण काल भनेको हो ।
कार्यभार सम्हाल्नु अघि र पछि के कस्तो समस्या थियो र कति निर्मूल गर्नुभयो ?
मैले कार्यभार सम्हाल्दा भूकम्पले पूर्वाधार तहसनहस पारेको अवस्था थियो । मानसिक रुपमा सबै जसो नेपाली विक्षिप्त थिए । खेल्ने खेलाउने वातावरण थिएन । दशरथ रंगशाला क्षतिग्रस्त थियो । अनि अर्कोतिर विवाद नै विवाद थियो । फुटबलको आन्दोलन सडकमा पुगेको थियो । क्रिकेटमा फन्डिंग बन्द गरिसकेको थियो । अख्तियारका मुद्दा धाइरहेका थिए मान्छे । कराते, तेक्वान्दो, बक्सिंग लगायत अन्य थुप्रै खेलका संघमा विवाद थियो । अनि त्यस्ता तिक्ततालाई हटाउनु पर्ने चुनौती मेरो सामू थियो । अर्कोतिर बजेट पनि सानो आकारको थियो । वार्षिक कार्यक्रम जम्मा ३ वटा हुन्थ्यो । तर राखेप आफैले अहिले १९ वटा कार्यक्रम गर्न थालेका छौ । हाम्रो प्रशिक्षकहरुलाई अन्य देशमा पढ्ने अनुकूल वातावरण थिएन । यस्ता चुनौतीहरुको सामना गर्दै अगाडी बढेका हौं ।
१३औं दक्षिण एसियाली खेलकूदको तयारीबाट सन्तुष्ट हुन सकिन्छ ?
तयारीबाट सन्तुष्ट हुनु र नहुनु भन्दा पनि आयोजना हुनुप¥यो । तयारीबाट सन्तुष्ट त म आफै पनि छैन र हुनु पनि हुदैन । सन्तुष्टी लियो भने अघि बढ्न सकिन्न । असन्तुष्ट बने मात्र नयाँ कुराको खोज हुन्छ, आविष्कार हुन्छ । तयारीबाट सन्तुष्ट नभएपनि साग आयोजना भने तोकिएकै मितिमा हुने निश्चित नै छ ।
सन्तुष्ट नहुनुको कारण ?
कारणहरु थुप्रै छ हेर्नुस् । बजेट आएको छैन । समितिहरुले आकार लिनुपर्ने लिन सकीरहेको छैन । साग तोकिएको मितिमा गर्न सकेन भने देशप्रति घात हुनेछ । देशको इज्जत र प्रतिष्ठासँग जोगिएको कुरा हो साग । त्यसैले समयमा आयोजना हुनैपर्छ र गर्नैपर्छ । कथमकदाचित तयारीमा विलम्ब भइहाले पनि दिन रात खटेरै भएपनि समस्याको समाधान गर्नु नै पर्छ ।
खेलाडी तयारी सुरु भएको हो ?
मलाई लाग्छ, तयारीको दुईवटा पाटो हुन्छ । एकातिर भब्य रुपमा आयोजना गर्ने र अर्कोतिर सहभागी नेपाली खेलाडीले बढी भन्दा बढी पदक जित्न सकून भन्ने लक्ष्य हो । खेलाडी तयारी चाहिं सुरु भइसकेको छ । खेलाडी तयारीमा भने कुनै कसर बाँकी राख्दैनौ । यसपटक नेपाली खेलाडीले विगतको कीर्तिमानलाई पछाडि पार्नेछ भन्ने विश्वास मलाई छ ।
अनि पूर्वाधार, ब्यवस्थापन तयारी नि ?
पूर्वाधार तीन वर्षदेखि बनिरहेको छ । केहि सकिसकेका पनि छन् । केहिले असारसम्ममा पूर्णता पाउनेछ भने केहि भदौसम्ममा तयार हुनेछ । अर्कोतिर बजेट निकासा गर्ने कुरादेखि टेन्डर आह्वान, समिति बनाउने, सामान खरीद गर्ने जस्ता यावत कामहरु भने बाँकी नै छन् । यस्तो काममा विलम्ब हुन्छ कि भन्ने अहिले बढी चिन्ता भएको छ हामीलाई । अब सरकारले समयमै निर्णय लिएर बजेट निकासा गरेमा यो समस्या पनि समाधान हुनेछ ।
चर्चित खेलकर्मीहरुले दोस्रो कार्यकालका लागि पनि तपाई नै उपयुक्त रहेको कुरा मिडियामा बोलीरहेका छन्, यसलाई कसरी लिनुहुन्छ ?
यसलाई मैले सहज ढंगले लिएको छु । जसरी मैले काम गरे, त्यो कामको यो राम्रो मूल्यांकन जस्तो मलाई लागेको छ । मैले गरेको काम सबैले रुचाएका छन् । मैले कसैलाई भेदभावपूर्ण ब्यवहार गरिन । राजनितिक दलको स्वार्थका लागि पनि काम गरेको छैन । सबैको भावनाको सम्मान हुने काम गरेकोले नै मलाई यसरी हेरिएको भन्ने लागेको छ । चर्चितले मात्र होईन, नेपाली खेलकूदमा आबद्ध ९९ प्रतिशत ब्यक्तिले मलाई रुचाएको मैले महसूस गरेको छु ।
यस्तो चाहना ती सबैले सार्वजनिक रुपमा नै ब्यक्त गर्नुपर्छन भन्ने पनि छैन । आफ्नो कार्यकालमा वाहवाहीका लागि भन्दा पनि मैले गर्नुपर्ने कर्तब्य इमान्दारिताका साथ मात्र पूरा गरेको हुँ । जसको मूल्याङ्कन उहाँहरुले गर्नुभएको हो । मेरो कार्यकालमा ५ वटा सरकार परिवर्तन भयो । पाँच जना मन्त्रीज्यूहरु आउनुभयो । अदालतमा पनि म विरुद्ध मुद्दा चलिरहेको थियो । त्यसैले प्रत्येक पटक मन्त्री परिवर्तन हुँदा सदस्य सचिव पनि परिवर्तन हुन्छ भन्ने सम्भावना प्रबल थियो । त्यस्तो अवस्थामा त मैले सहज रुपमा काम गरे भने अहिले त स्थिर सरकार छ, पुनः जिम्मेवारी पाएँ भने त यो भन्दा १० गुणा बढी काम गर्न सक्छु । शायद यसै कारणले पनि मलाई दोस्रो कार्यकालका लागि उपयुक्त देख्नेहरुको संख्या बढेको हुनसक्छ ।
मानौ यदि तपाई दोस्रो कार्यकालका लागि नियुक्त हुनुभयो भने तपाईको प्राथमिकतामा के पर्छ ?
तपाईले भने जस्तै यदि म पुनः नियुक्त भए भने गर्न बाँकी केही महत्वपूर्ण कामहरु पूरा गर्छु । कर्मचारीको बढुवा विगत १५ वर्षदेखि रोकिएको छ । करार कर्मचारीलाई स्थायी गर्नुपर्नेछ । हुनत यी दुईवटा काम आधा जसो सकिसकेको पनि छ ।
यो काम अहिले गर्न नसक्नु कारण ?
यो प्रक्रियागत विषय हो । विधिसम्मत भएर मन्त्रालयदेखि अहिले यो हाम्रो तहसम्म आइपुग्न १४ वर्ष लागेको छ । अब चाँडै नै यसको टुङ्गो पनि लाग्नेछ । त्यसैगरी स्पोर्ट्स युनिभर्सिटी बनाउने योजना अघि सारेका छौं । जसका लागि पाठ्यक्रम तयार पारेर सरकारमा लगेका छौं । यदि अर्को कार्यकालसम्म यही जिम्मेवारी पाएमा स्पोर्ट्स युनिभर्सिटी नेपालमा अवश्य बन्नेछ । यस्तै ठूलो आकारको स्पोर्ट्स हस्पिटल बनाउने योजना पनि छ । खेलसँग सम्बन्धित सम्पूर्णका लागि सबैखाले उपचार उपलब्ध हुने आधुनिक हस्पिटल बनाउनु पर्ने अहिलेको आवश्यकता पनि हो । हुनत मेरै कार्यकालमा दशरथ रंगशाला परिषरमा सानो आकारको हस्पिटल बन्न थालेको हो । प्रशिक्षकको संख्या पनि अहिले घटेको छ । त्यसैले अहिले थुप्रै प्रशिक्षक नियुक्ति गर्नुपर्ने भएको छ ।
यसलाई पनि प्राथमिकतामा राखेर उपलब्ध प्रशिक्षकलाई अझ दक्ष बनाउने ब्यवस्था मिलाउनुका साथै नयाँलाई समयसापेक्ष बनाउने सोच छ । अर्को भनेको खेलाडीले पाउने मासिक प्रोत्साहन भत्तालाई २० हजारसम्म पु¥याउँछु । नेपाल भनेकै खेलकूद भनेर चिनोस् भन्ने चाहना छ ।
न्यूट्रल भेन्यूका रुपमा नेपाल बन्नसक्छ । हाईअल्टीच्यूड ट्रेनिंग सेन्टर बनाउने, खेलकूद पर्यटनमार्फत विदेशी मुद्रा आर्जनका लागि आधार खडा गर्ने जस्ता हाम्रो दीर्घकालीन योजना छ । यसले खेलकुद मात्र होइन, देशको अर्थतन्त्रलाई नै माथि उकास्न सहयोग पु¥याउने छ । ग¥यो भने केहि पनि असम्भव छैन, अहिले देशैभरि पूर्वाधार निर्माणले तीब्रता पाइरहेको छ, ७ सय ५० भन्दा बढी प्रोजेक्टमा काम चलिरहेको छ । मेरो कार्यकालको सुरुवातमा यो संख्या ज्यादै न्यून थियो ।
चार वर्षे कार्यकालको सबैभन्दा दुखद र सुखद क्षण ?
१२औं दक्षिण एसियाली खेलकूद नेपालले झण्डै साढे दुई दशकपछि फुटबलमा स्वर्ण जित्दा ज्यादै भावुक भए । भारतलाई उसैको भूमिमा हराउंदाको उक्त क्षण मेरो आँखाबाट खुसीको आशु बगेको थियो । अर्को चाहिं मैले अपाङ राष्ट्रिय खेलकूद प्रतियोगिता गराउँदा खेलाडीहरुमा देखिएको खुसीले मलाई निकै आनन्दित महसूस गरायो । दुख लागेको क्षणको कुरा गर्दा नियुक्ति भएर आएको दिन नै मान्छे बेचुवा भन्ने आरोप खेपेको थियो ।
वास्तवमा ममाथि यो गलत आरोप लागेको थियो । न म मान्छे बेचुवा हो न मैले यस्तो कुनै गलत काम नै गरेको छुं । यस्तो गलत आरोपबाट मैले अदालतबाट सफाई पनि पाइसकेको छु । अनि अर्को १२औं दक्षिण एसियाली खेलकूद र एसियाली खेलकूदको पदक तालिकामा सोचे जति सुधार नहुनाले पनि दुख लागेको थियो । यधपि प्याराग्लाइडिंगले दिएको दोस्रो रजतले भने निक्कै खुसी महसूस भयो । पाराग्लाइडिंगलाई एसियन गेम्ससम्म पु¥याउन र पदक हासिल गर्न मेरो नेतृत्वको राखेपले ठूलो मेहनत गरेको छ ।
प्रतिक्रिया