किशोरीहरु अझैँ पीडामा !


कृष्णउदास खनाल, वीरगन्ज ।
यही जेठ १२ गते १५ वर्षीया किशोरी एक्लै भारततिर जान लागेको देखेर वीरगन्ज नाकास्थित शंकराचार्यद्वारनजिक रहेका सुरक्षाकर्मी र माइती नेपालका स्वयमसेवीले शंका गरे । रोकेर सोधपुछ गर्दा ती किशोरीले साथीसँग पारि जान थालेको बताइन्। छिमेकी गाउँका १९ बर्से केटा नेपाल–भारत जोड्ने मितेरी पुलमा ती किशोरीलाई पर्खिरहेका थिए। ती केटाले भगाएर किशोरीलाई भारततिर लैजान लागेका थिए। किशोरीले घरको दराजबाट झिकेर ल्याएको पचास हजार रुपैयाँ पनि साथमै थियो।

पारिवारिक वातावरण बिथोलिँदा पनि किशोरीहरू जोखिममा परेका थुप्रै घटना रहेको माइती नेपाल वीरगन्जकी प्रमुख संगिता पुरीले बताउनुभयो । उहाँले यसरी भारत लान खोजिएको किशोरीको उद्वार गरी आफन्तको जिम्मा लगाइएको पनि जानकारी दिनुभयो । वैशाख १३ गते एकजना १५ बर्से किशोरीलाई राति शंकास्पद अवस्थामा फेला पारेर वडा प्रहरी कार्यालय श्रीपुरको गस्ती टोलीले माइती नेपालमा पु¥यायो। किशोरीले आफ्नो घर दाङ जिल्ला रहेको बताइन्। उनी बिरामी अवस्थामा थिइन्।

जचाउन नारायणी अस्पताल लगियो। पेटमा पाँच महिनाको बच्चा रहेछ। आश्रय दिने संस्थाका महिलाहरूले बताए अनुसार उनको कथा निकै दुःखपूर्ण छ। उनका बुबा छैनन्। बुबा बितेपछि आमा अर्कैसँग बिहे गरेर गइन्। घरमा उनी एक्लै बस्दै आएकी थिइन्। राम भन्ने केटासँग प्रेम बस्यो।

रहँदा–बस्दा पेटमा बच्चा भएपछि रामले विवाह गर्न अस्वीकार गरे। बुझ्दै जाँदा उनी पहिल्यैदेखि विवाहित रहेछन्। त्यसको केही दिनपछि निर्मला गिरी परिचित महिलाका साथ लागेर उनी वीरगन्ज आएकी रहिछन् । यहाँ आएपछि निर्मलाको पनि साथ छुट्यो र उनी एक्लो भइन्। खोकीले ग्रस्त र कुपोषणले दुब्लाएकी उनको उपचारपछि पेटमा रहेको बच्चा ठिकै रहेको भेटियो ।

पाँच महिनाको गर्भ निकाल्न नमिल्ने डाक्टरले बताए। अहिले ती किशोरीलाई स्याहारसुसारका लागि माइती नेपालको केन्द्र्रीय कार्यालय लगिएको छ। १६ वर्ष नलाग्दै आगामी असोजमा उनी आमा बन्नेछिन्। यसरी किशोरीहरू बलात्कार तथा यौनहिंसा, बेचबिखन, आत्महत्या तथा सामूहिक आत्महत्यासम्मका शिकार बनिरहेका छन्।