विराटनगरमा पनि डेंगुको संक्रमण भेटियो


विराटनगर ।
विराटनगर महानगरपालिकामा पनि डेंगुको संक्रमण देखिएको छ । विराटनगर महानगरपालिका भित्र २ जनामा डेंगुको संक्रमण देखिएको विराटनगर महानगरपालिका स्वास्थ्य शाखा प्रमुख लजिता योञ्जनले जानकारी दिनुभयो । उहाँले विराटनगरको वडा नम्बर १ पुष्पलाल चौक घर भएका र अर्का वडा नम्बर ३ मा घर भएका व्यक्तिलाई डेंगु पुष्टि भएको बताउनु भयो ।

डेंगु संक्रमितको नोबेल र विराट नर्सिङ होममा उपचार भैरहेको छ । यस्तै मोरङको बेलबारी, पथरी, रंगेली र सुन्दरहरैचाहामा पनि डेगुका सक्रमित भेटिएका छन । योञ्जनले विराटनगर महानगरपालिका भित्र डेगु देखिएपछि सचेतनाका साथ विज्ञ सहितको टोलीले डेगु पहिचान गर्ने र नियन्त्रण गर्ने अभियान सुरु गरिएको जानकारी दिनुभयो ।

उहाँले भोलिदेखि विराटनगर महानगरपालिका भित्र डेंगु नियन्त्रणका लागि मालाथिन फगी स्प्रे छिट्न सुरु गर्ने पनि बताउनु भयो । यस्तै महानगरले जेठ २९ गते वडा नम्बर २,३,१ र १० मा , ३० गते ४,३,१ र १० मा, ३१ गते ४,५, ६ र ७ मा ३२ गते ९, ५, ६ र ७ मा यसैगरी असार १ गते ९, ११, १२ र ८ मा २ गते १३,११,१२ र १४ मा ३ गते १३,११,१२ र १४ मा र ४ गते १८,१९ मा मालाथिन फगी स्प्रे गर्ने कार्यक्रम तय गरेको छ । यसका लागि नगरबासीलाई खाने कुरा छोपेर राख्न पनि महानगरले आग्रह गरेको छ ।

डेंगु सक्रमित लामखुट्टेले दिउसो मात्र टोक्ने भएकाले बाध्य भएर बिहान ७ बजेदेखि ११ बजेसम्म औषधि छर्कने कार्यक्रम राखिएको पनि महानगरले जनाएको छ । हाल सुनसरीको धरानमा डेंगु प्रकोपको रुपमा फैलिएकाले महानगरमा यस्तो नहोस् भनेर सुरुदेखि नै नियन्त्रण अभियान थालिएको योञ्जनले जानकारी दिनुभयो ।