वडाभरीका ज्येष्ठ नागरिकलाई टोपी र लौरो


नानीराम नेपाल, सिन्धुपाल्चोक ।
बलेफी गाउँपालिका ८ का ज्येष्ठ नागरिकहरु सम्मानित भएका छन् । मंगलवार बलेफी गाउँपालिका ८ स्थित बसेरीमा एक समारोह आयोजना गरि स्थानीय अभिप्रेरणा यूवा क्लवले वडाभरका ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको हो ।

बलेफी गाउँपालिका ८ स्थित कालीदेवी आधारभुत विद्यालयमा स्थानीय अभिप्रेरणा यूवा क्लवले आयोजना गरेको ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा गाउँपालिका अध्यक्ष केदार क्षत्रीले ७० वर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई खादा र टोपी लगाउँदै लौरो प्रदान गर्नुभयो । पुरुषहरुलाई टोपी लगाएर सम्मान गरिएको थियो । महिलाहरुलाई पछ्यौरा प्रदान गरियो ।

वडाभर ७० वर्षमाथिका १ सय २१ ज्येष्ठ नागरिक रहेकोमा ७६ जना सम्मान ग्रहणका लागि उपस्थित भएका थिए । आजको समाज निर्माणका लागि ज्येष्ठ नागरिकहरुले हिजोका दिनमा महत्वपुर्ण योगदान गर्नुभएको भन्दै ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्नुपर्नेमा अध्यक्ष क्षत्रीले जोड दिनुभयो । ‘हिजोका दिनमा उर्जासील समय उहाँहरुले समाजका लागि खर्चनुभयो, ज्येष्ठ नागरिकहरु ज्युँदा इतिहास हुन्’, अध्यक्ष क्षत्रीले भन्नुभयो ।

ज्येष्ठ नागरिकहरु परिवारभित्रै अपहेलित भइरहेका बेला परिवार र समाज हुँदै राज्यले उनीहरुको सम्मानमा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । कार्यक्रममा सवैभन्दा बढि उमेरका १०२ वर्षिय जीतबहादुर बस्नेत सम्मानित भएका थिए भने महिलातर्फ सवैभन्दा बढि उमेरकी ९६ वर्षिया ठूलिमायाँ तामाङ सम्मानित हुनुभयो । कार्यक्रममा बोल्दै बलेफी ८ का वडाध्यक्ष चरिबहादुर तामाङले वडातहबाट ज्येष्ठ नागरिक सम्मानको कार्यक्रमलाई निरन्तरता दिँदै लगिने बताउनुभयो । गाउँपालिकाले चालु आर्थिक वर्षमा ज्येष्ठ नागरिक सम्मान शिर्षकमा १ लाख रकम छुट्याएकोमा सोही रकमले टोपी, पछ्यौरा र लौरी खरीद गरि ज्येष्ठ नागरिकलाई प्रदान गरिएको हो ।