लोकसेवा आयोगको विज्ञापन खारेज गर्न माग गर्दै राजपाद्धारा प्रदर्शन


यमलाल भुसाल, बुटवल ।
लोकसेवा आयोगले जारी गरेको विज्ञापन फिर्ता लिन माग गर्दै राष्ट्रिय जनता पार्टी नेपाल जिल्ला कार्यसमिति रुपन्देहीले मंगलवार रुपनदेहीको धकधईमा प्रदर्शन गरेको छ ।

आयोगले आह्वान गरेको विज्ञापन समावेशी सिद्धान्त विपरित रहेको भन्दै राजपाले रुपन्देहीको रोहिणी गाउँपालिका–३ स्थित धकधईमा प्रदर्शन गरेको हो ।

लोकसेवाको विज्ञापन मधेशी, सीमान्तकृत समुदाय विरुद्ध र असंवैधानिक भएकोले विरोध कार्यक्रम गरिएको राजपा नेपाल रुपन्देहीका अध्यक्ष मण्डलका संयोजक महेन्द्र गुप्ताले बताउनु भयो ।

मुलुकमा जारी गरिएको संविधानमा समावेशी समानुपातिक प्रतिनिधित्वबारे उल्लेख भए पनि सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संविधान विरोधी गतिविधि गरेको उहाँले आरोप लगाउनु भयो । मधेशी जनताको अधिकार कटौती गर्ने खेलमा सरकार लागेको उहाँले बताउनु भयो ।

कार्यक्रममा राजपा रुपन्देहीका सचिव विजय चौधरी, युवा नेता पंकज दुवे, प्रेम सागर शुक्ला, अकलेश चौधरी, राष्ट्रिय विद्यार्थी संघ रुपन्देहीका अध्यक्ष चन्दन तिवारी लगायतले लोकसेवा आयोगको विज्ञापन मधेशी, जनजाति तथा सीमान्तकृत समुदाय विरोधी भएको बताउनु भयो ।