चौथो वातावरण साहित्य गोष्ठी लन्डनमा सम्पन्न


लन्डन ।
विश्व वातावरण दिवसको अवसरमा हालै बेलायतको राजधानी लन्डनमा चौथो वातावरण साहित्य गोष्ठी सम्पन्न भएको छ । बेलायतमा रहेका १४ ओटा नेपाली साहित्य संस्थाको संयुक्त आयोजनामा गरिएको उक्त कार्यक्रमको उद्घाटन बेलायतका लागि नेपाली राजदूत तथा साहित्यकार डा दुर्गाबहादुर सुवेदीले गर्नुभएको थियो ।

सो अवसरमा करीब ३५ जना कवि तथा कवयित्रीले कविता वाचन गर्नुभएको थियो । तीमध्ये अहिल्या कुँवरको कवितालाई सर्वोत्कृष्ट घोषित गरी पुरस्कृत गरिएको थियो । यसवर्षको वातावरण दिवसको नारा वायु प्रदूषणलाई मुख्य विषय बनाएर कविता वाचन गरिएको थियो ।

बिग्रंदो वातावरणलाई संरक्षण गर्न साहित्यमार्फत जनचेतना फैलाउने उद्देश्यले साहित्यिक कार्यक्रमको आयोजना गरिएको साहित्य सङ्गमका अध्यक्ष विनोद अधिकारीले बताउनुभयो । उहाँका अनुसार नेपाल भ्रमण वर्षलाई टेवा पु¥याउने उद्देश्यले अर्को वर्षको वातावरण दिवसको अवसरमा पाँचौँ वातावरण साहित्य गोष्ठी काठमाडौँमा आयोजना गरिने भएको छ ।

सो अवसरमा प्रमुख अतिथि राजदूत डा सुवेदी र कार्यक्रमका प्रमुख संयोजक विजय हितानले वासु शर्माको गजल सङग्रह ‘पोखियो मन छताछुल्ल’, प्रतिमा केसीको कविता सङग्रह ‘पानीको बिद्रोह’ र रामप्रसाद घिमिरेको कथा सङग्रह ‘खप्परेका कथाहरु’ विमोचन गर्नुभयो ।युकेमा वातावरण साहित्य गोष्ठी सम्पन्न