विकास निर्माणमा महिला नेतृत्वः सडकले जोडियो मांखा–चिम्लीङ



नानीराम नेपाल, सिन्धुपाल्चोक ।
स्थानीय तहका विकास योजनामा महिलाको नेतृत्व देख्न मुस्किल पर्छ । स्थानीय तहका विकास योजनामा महिलाको नेतृत्व औंलामै गन्न मिल्ने अवस्था छ । पूर्वाधार विकासका योजना त छँदैछन्, महिला लक्षित कार्यक्रमहरुमा समेत योजनाको नेतृत्व गर्न पुरुषहरुकै लुछाचुँडी चल्छ ।

स्थानीय तहका विकास योजनामा महिलाले नेतृत्व नपाइरहेकाबेला बलेफी गाउँपालिका ६ की अमृता नेपालले महिलाले पनि विकास योजनाका काम सम्पन्न गर्न सक्छन् भन्ने उदाहरण दिनुभएको छ ।

बलेफी गाउँपालिका ६ स्थित मांखा र ७ नम्बर वडाको चिम्लीङ गाउँ जोड्ने सडक उपभोक्ता समितिको नेतृत्व गरेर नेपालले मांखा र चिम्लीङलाई सडक सञ्जालमा जोड्न सफल हुनुभयो ।‘व्यवस्था बदलियो, शासकीय संरचना फेरियो तर महिलालाई विकास योजनाको नेतृत्व गर्न दिनुहुँदैन भन्ने पुरानै मान्यता हाबी छ’, मांखा चिम्लीङ सडक उपभोक्ता समितिकी अध्यक्ष नेपालले भन्नुभयो, ‘सडक उपभोक्ता समितिमा बसेर स्थानीय तहको विकास निमार्णको नेतृत्व महिलाले पनि गर्न सक्छन् भन्ने उदाहरण दिएको हुँ ।’

मांखा र चिम्लीङलाई सडकले जोड्ने स्थानीयवासीको बषौदेखिको सपना पुरा भएको छ । प्रतिनीधि सभाका सांसद अग्निप्रसाद सापकोटाले साताअघि मांखादेखि चिम्लीङसम्मको सडकको उद्घाटन गर्नुभयो । सडक नै विकासको आधार बनिरहेको भन्दै ग्रामीण भेगका सडकहरुलाई थप व्यवस्थित बनाउनुपर्नेमा सांसाद सापकोटाले जोड दिनुभयो ।

सडकलाई स्थानीयका जीवनसँग जोड्नुपर्ने भन्दै सापकोटाले सडकलाई आयआर्जनमा जोड्नका लागि स्थानीयवासीलाई आग्रह समेत गर्नुभयो । स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रम अन्तर्गत सासंद सापकोटाले यो सडक निर्माणका लागि ५० लाख रुपियाँ बजेट विनियोजन गरेपछि सडक ट्रयाक निर्माणको काम थालिएको थियो ।

चटान र पहरो फोर्दै मांखादेखि चिम्लीङसम्म सडक जोडिँदा स्थानीयवासीमा खुसियाली छाएको छ । ‘मांखा चिम्लीङलाई सडकले जोड्ने बर्षौअघिदेखिको सपना थियो, बल्ल पुरा भइदियो’, बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षत्रीले भन्नुभयो, ‘अब दुई वडाहरु माथिल्लो बेल्टमै सडकले जोडिए ।’

प्रतिक्रिया दिनुहोस्