हाइड्रोपावरको ड्याममा खस्दा एक मजदुरको मृत्यु


हेटौंडा ।
मकवानपुरको भीमफेदी गाउँपालिका–८ मा रहेको माण्डु हाइड्रोपावरको ड्याममा खस्दा एक मजदुरको मृ्त्यु भएको छ । ड्याममा काम गर्ने मजदुर उदयपुर घर भएका करिब ४० वर्षीय टेकबहादुर मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता यज्ञप्रसाद भट्टराईले बताउनुभयो ।

शनिबारदेखि ड्याममा रहेको पानी बाहिर फ्याँक्ने काम आइतबार सकिएकोले मगरको मृत्यु भएको पुष्टि भएको उहाँले बताउनुभयो । भरिएको पानीमा मगर डुबेको आशंकापछि पानी बाहिर फ्याँक्न सुरु गरिएको थियो ।

शनिबार साँझदेखि बेपत्ता मगरको ड्यामको हिलोमा गाडिएको अबस्थामा शव भेटिएको हो । मगर बेपत्ता भएपछि मगरका साथीहरुले उनको खोजी गरेका थिए । उनका साथीहरुले उनलाई खोज्दै जाँदा ड्यामको डिलमा मगरको एउटा चप्पल देखेका थिए । उनी ड्याममा डुबेको हुनसक्ने भन्दै साथीहरुले प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले ड्यामको पानी सुकाएर खोजी गर्दा पानीको सतहबाट करिब १३ मिटर तल मगरको शव फेला परेको हो ।

प्रहरी प्रवक्ता भट्टराईले ड्यामको डिलमा बसेर फोन गर्दैगर्दा उनी आफैं ड्याममा खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताउनुभयो ।