खप्तड लघु जलविद्युत् आयोजनाको सफल परीक्षण


अछाम ।
अछामको साँफेबगर नगरपालिका–१२ खप्तडमा निर्माण भएको खप्तड लघु जलविद्युत् आयोजनाको सफल परीक्षण गरिएको छ । २०७० सालदेखि निर्माण सुरु गरिएको विद्युत् आयोजनाको सम्पूर्ण काम सम्पन्न भएसँगै सफल परीक्षण उत्पादन गरिएको आयोजना निर्माण उपभोक्ता समितिले जनाएको छ ।

वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको १ करोड २७ लाख ५० हजार, गरिबी निवारण कोषको २५ लाख, २०७० मा तत्कालिन निर्वाचन क्षेत्र विकास कोषबाट १५ लाख, तत्कालिन जिल्ला विकास समिति अछामबाट ५ लाख रूपैयाँ विनियोजन भएर निर्माण भएको आयोजना हालै सम्पन्न भएको निर्माण उपभोक्त समितिका अध्यक्ष खकेन्द्र कडायतले जानकारी दिए ।

पछिल्लो समय आयोजनालाई पूर्णता दिनका लागि खप्तड क्षेत्र पर्यटन विकास समितिबाट १४ लाख, साँफेबगर नगरपालिकाबाट १३ लाख, साँफेबगर नगरपालिका वडा नं। १२ बाट ५ लाख २० हजार, पूर्वाधार विकास कार्यक्रम अछाम क्षेत्र नं। १ को ९क० बाट १५ लाख, सुदूर पश्चिम प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयबाट २० लाख रुपैयाँ विनियोजन भएको थियो । जम्मा २ करोड ४३ लाख ५ हजार ९ सय २ रूपैयाँ लागतमा लघु जलविद्युत् आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न भएको कडायतले बताए ।

“विद्युत् गृह, प्रसारणलाइन, आवश्यक मेसिन उपकरण खरिदलगायत सम्पूर्ण व्यवस्थापन कार्य गरी विद्युत् परीक्षण गर्नसमेत सफल भएका छौं,” समितिका अध्यक्ष कडायतले भने “अझै रकम अभावका कारण सामग्री खरिदको उधारो तिर्न सकिएको छैन ।”

लघु जलविद्युत् आयोजनामा विद्युत्का पोल, तार र अन्य उपकरण ढुवानीसहित करिब २५ लाख बराबर स्थानीयले जनश्रमदान गरेको जनाइएको छ । विद्युत् आयोजना निर्माण भएसँगै खप्तड राष्ट्रिय निकुञ्ज कार्यालय, नेपाली सेनाको ब्यारेक, खप्तड क्षेत्र पर्यटन विकास समितिको कार्यालय र २४४ घरधुरीका २ हजार बढी उपभोक्तालाई प्रत्यक्ष लाभ हुने भएको छ । स्थानीय खप्तड खोलाबाट ५० दशमलव ५ मेघावाट विद्युत उत्पादन गर्ने गरी सुरु भएको लघुजलविद्युत् आयोजनाबाट ६० किलोवाट उत्पादन भएको उपभोक्ता समितिले जनाएको छ । सफल परीक्षण गरिसकिएको उक्त विद्युत् यही जेठ २८ गतेबाट सबै उपभोक्तालाई वितरण गरिने र निकट भविष्यमै औपचारिक समारोहको आयोजना गरि उद्घाटन गरिने जनाइएको छ ।