एघार क्रियाशील पत्रकारलाई नगदसहित अवार्ड


हेटौंडा ।
न्यु मिडिया एकेडेमी प्रालिको आयोजनामा शनिबार दोस्रो हेटौंडा जर्नालिजम अवार्ड २०७६ सम्पन्न भएको छ । ११ विधामा मकवानपुरका क्रियाशील पत्रकारलाई अवार्ड प्रदान गरिएको थियो ।

नेपाल पत्रकार महासंघ मकवानपुर अध्यक्ष हरि हुमागाईं, उपाध्यक्ष कुमार अधिकारी र नेपाल समाचारपत्रकर्मी रोशन पराजुली रहेको जुरीले सम्मानित पत्रकार चयन गरेको थियो ।

अवार्ड कार्यक्रममा मकवानपुरमा नेपाल पत्रकार महासंघ शाखाको नेतृत्व गर्ने शाखा पूर्वअध्यक्षलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा पूर्वअध्यक्ष नवराज शर्मा, कौशल पाण्डे, प्रताप बिष्ट, राममणि दाहाल, भानुभक्त आचार्य र महेन्द्र श्रेष्ठ हुनुहुन्थ्यो । उहाँहरुलाई प्रदेश–३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गर्नुभएको थियो ।

अवार्ड कार्यक्रममा विभिन्न विधाअन्तर्गत् उत्कृष्ट खेलकुद पत्रकारिता वर्ष अवार्ड एभिन्युज टेलिभिजनका राजन दाहाललाई प्रदान गरिएको थियो । उत्कृष्ट चलचित्र पत्रकारिता वर्ष अवार्डमा नागरिक दैनिकका अशोकसुजन श्रेष्ठ, उत्कृष्ट आर्थिक पत्रकारिता वर्ष अवार्ड कारोबार दैनिकका केशव समर्पण, उत्कृष्ट खोज पत्रकारिता वर्ष अवार्ड अन्नपूर्ण पोस्ट दैनिकका कृष्ण सारुमगर, उत्कृष्ट सम्पादक वर्ष अवार्ड साझाकुरा दैनिकका सुबास बिडारीलाई प्रदान गरिएको थियो ।

नवउदीयमान पत्रकार वर्ष अवार्डमा रेडियो थाहासञ्चारकी सृजना नेपाल, उत्कृष्ट अनलाइन पत्रकारिता वर्ष अवार्ड प्रष्टखबर डट्कमका सुनिल शिवाकोटी, उत्कृष्ट प्रस्तोता वर्ष अवार्ड रेडियो थाहासञ्चारका दर्शन क्षेत्री, उत्कृष्ट सामाजिक पत्रकारिता वर्ष अवार्ड रेडियो मकवानपुर र प्रदेश दैनिकका गणेश अधिकारीलाई प्रदान गरिएको थियो ।

उत्कृष्ट पुरुष पत्रकार वर्ष अवार्ड कान्तिपुर टेलिभिजनका बालकृष्ण अधिकारी र उत्कृष्ट महिला पत्रकार वर्ष अवार्ड टिम टेलिभिजनकी नानीमाया सापकोटालाई प्रदान गरिएको थियो । ९ विधाका लाई नगद पाँच हजार र उत्कृष्ट पुरुष पत्रकार वर्ष अवार्ड र उत्कृष्ट महिला पत्रकार वर्ष अवार्ड प्राप्त गर्नेलाई दश हजार नगदसहित अवार्ड प्रदान गरिएको थियो । आयोजक प्रालि अध्यक्ष मणिराज गौतमले सम्मानबाट पत्रकारलाई हौसला मिल्ने बताउनुभयो ।

सांगीतिक कार्यक्रमसहित आयोजित कार्यक्रममा चर्चित गायक प्रकाश सपुतले गलबन्दी गीत प्रस्तुत गरी सबैलाई झुमाउनुभएको थियो । उहाँलाई गायिका काजल गुरुङले साथ दिनुभएको थियो ।