इन्धनको नेपालबाट भारत तस्करी



कृष्णउदास खनाल, वीरगन्ज ।
पर्सा जिल्लाको ग्रामीण नाकाबाट इन्धनको तस्करी हुने गरेको पाइएको छ ।

पर्साबाट प्रहरीले १ सय २० लिटर डिजेलसहित १ जनालाई नियन्त्रणमा लिएपछि यो रहश्य खुलेको हो । जगरनाथपुर गाउँपालिका–२, पचरौता टोल बस्ने १८ वर्षीय रफी आलमलाई प्रहरीले पक्राउ गरेकये छ ।

बीआर २२ जे ६१२७ भारतीय नम्बरको मोटरसाइकलमा डिजेल लोड गरी अवैध रुपमा भारततर्फ लैजाँदै गर्दा आइतबार बिहान जगरनाथपुर गाउँपालिका–३, जानकीटोलाबाट आलमलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । भारतमा भन्दा नेपालमा डिजेल पेट्रोल सस्तो हुँदा पर्साको ग्रामीण क्षेत्रबाट भारतीय सीमावर्ती क्षेत्रमा पेट्रोलियम पदार्थको तस्करी हुने गरेको छ ।

यसरी नै पर्सा प्रहरीले वीरगन्ज महानगरपालिकाबाट मरिच तस्करीमा संलग्न एक जनालाई नियन्त्रणमा लिएको छ । वीरगन्ज महानगरपालिका वडा नं २५ सिर्सिया बस्ने २६ वर्षीय राजनकुमार तुराहालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।राजनलाई ना १५ प १७४९ नं.को मोटरसाईकलमा ८ किलो मरिच भारततर्फ लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।सीमा प्रहरी चौकी छपकैयाको टोलीले शनिबार बेलुका वीरगन्ज–१ छपकैयाबाट उनलाई नियन्त्रणमा लिएको थियो ।

बरामद गरिएको समान सहित दुवै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ ।त्यसैगरी पर्सागढी नगरपालिका वडा नं.८ हरपुरबाट प्रहरीले ७ बोरा गुट्खा नियन्त्रणमा लिएको छ ।

ना ८ प १२६२ नं.को मोटरसाइकलमा भारतबाट अवैध रुपमा ल्याउँदै गरेको ३ बोरा राजनिवास र ४ बोरा तुलसी प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीको गस्ती टोललीलाई देख्नेवित्तिकै तस्कर फरार भएकोले पक्राउ गर्न नसकिएको प्रहरीले जनाएको छ ।

प्रहरीले वीरगन्ज महानगरपालिका वडा नं २१ परवानीपुर चौकबाट अवैध घरेलु मदिरा ४० लिटरसमेत बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्