सरिता अर्याल
काठमाडौंको गौशाला निवासी सरिता अर्यालका मूलतः तीन व्यक्तित्व सार्वजनिक रुपमा बाहिर आएका छन्– साहित्यकार, लेखक र पत्रकार, महिला अधिकारकर्मी र शिक्षा सुधार अभियन्ता । साहित्यका क्षेत्रमा कथाकारका रुपमा परिचित अर्यालले यात्रा स्मरण पनि लेख्नुभएको छ । कुनै बेला नयाँ सडक दैनिकका प्रकाशक पनि रहेकी अर्याल सञ्चार माध्यमहरुमा स्तम्भकारका रुपमा पनि परिचित हुनुहुन्छ । प्रस्तुत छ नेपाल समाचारपत्रले उहाँसँग गरेको कुराकानी
तपाईं आफूलाई पत्रकार सरिता अर्याल भन्न रुचाउनु हुन्छ कि साहित्यकार सरिता अर्याल ? यी दुबै क्षेत्रमा कसरी प्रवेश गर्नुभयो र अहिले कुन पाटोलाई विषेश अँंगाल्नु भएको छ ?
मेरो लेखन पत्रकारिताबाट सुरु भएको हो । हिमालय टाइम्सको रिपोर्टर भएर पत्रकारिता सुरु गरेपछि मैले आफै सम्पादक–प्रकाशक भएर शुखी संसार पारिवारिक मासिक पत्रिका प्रकाशन गरें । त्यसपछि नयाँ सडकको प्रकाशक र केही दिनको लागि सम्पादक पनि भएर राष्ट्रिय दैनिक पत्रिकाको पहिलो महिला सम्पादक हुन पुगें । नयाँ सडकबाट आन्तरिक किचलोका कारण प्रकाशन गृहबाट बाहिरिएँ भने पछि व्यावहारिक कारणले आफू नै देशबाटै बाहिरिएका कारण शुखी संसार स्वतः बन्द भयो ।
लेख्ने जोशलाई विदेशमै भएपनि निरन्तरता दिइरहें । कहिले कान्तिपुरको नेपालमा मेरो लेख आउथ्यो भने कहिले अमेरिकाबाट प्रकाशित हुने विश्वपरिक्रमाबाट । सात वर्षको प्रवास जीवनबाट स्वदेश फर्किदा सञ्चारक्षेत्रमा धेरै परिवर्तन आइसकेको थियो । शुखी संसारलाई कुन रुपमा बाहिर ल्याउँ भन्ने अन्योलमा पुगें । यसैबीच घटना र बिचारमा स्तम्भकारका रुपमा लेख्न थालें । पछि नेपाल समाचारपत्र, अन्नपूर्णपोष्ट, गोरखापत्र, राजधानी र हिमाल खबर पत्रिकामा समयसमयमा आलेखहरु प्रकाशित गरिरहन्थें ।
विदेशबाट फर्किएपछि के गरुँ के गरुँ भएर अन्योल भएकै बेलामा कथाका पाण्डुलिपिहरु तयार गर्न थालें । पाण्डुलिपिले कथाासंग्रहकै रुप लियो र पाठकको हातमा पु¥याएँ ‘फर्केर हेर्दा’ । फर्केर हेर्दा आइ सकेपछि पत्रकारको साथसाथै सरिता अर्यालका कलमहरु साहित्यमा पनि कोरिन थाले । पहिले म मात्र पत्रकार भएर लेखनको दुनियामा प्रवेश गरेकी थिएँ भनें अहिलेको अवस्थामा आइपुग्दा दुइटा साहित्यिक कृति पनि प्रकाशित भैसकेकोले साहित्यकार पनि भएँ कि जस्तो लाग्दछ । तर, यो मैलेभन्दा पनि पाठकहरुले मलाई कुन रुपमा देख्नुहुन्छ त्यसले मान्यता राख्दछ होला ।
हिजोआज पत्रकारिताभन्दा साहित्यिक लेखनमा मेरो कलम बढी चल्न थालेको हो कि भन्ने अनुभव स्वयं मलाई पनि हुदै गएको छ । अहिले पनि म महिला सञ्चारकर्मीहरुको छाता संगठन सञ्चारिका समूहको सल्लाहकारको रुपमा कार्यरत नै छु । मेरो रोजाइको पेशा हो पत्रकारिता । यसलाई त सायद आर्यघाट पुगेपछि मात्र म छोड्न सकूँला । आर्यघाटमा गएर बिलिन भइसकेपछि पनि मलाई सरिता अर्याल भनेर जीवित राख्ने केही छ भने त्यो हो मैले लेखेका साहित्यिक कृतिहरु । त्यसैले म यतातिर पनि बढी नै आकर्षित हुन पुगेकी हुँ कि जस्तो लाग्दछ । अहिले आफूले आफूलाई चिनाउनु पर्दा पत्रकार तथा साहित्यकार सरिता अर्याल नै भनेर चिनाउन चाहन्छु ।
तपाईंलाई त हामीले महिला अधिकारकर्मी पनि हो भन्ने ठानेको, होइन र ?
म पहिले पत्रकार र साहित्यकार हो । यसको मतलव म महिला अधिकारकर्मी होइन भन्न खोजेको होइन । म मेरा लेख र कथाहरुमार्फत महिला हक–हितका विषयहरु उठाउँछु । म मेरो कलममार्फत महिला अधिकारका कुराहरुको वकालत गर्छु । म महिला हक अधिकारका विषयलाई लिएर सडकमै ओर्लिने अभियन्ता भने होइन तर कलमबाट भने म जहिले पनि महिला अधिकारका कुरा उठाउने लेखककै पक्तिमा गएर लामबद्ध भएर उभिन चाहन्छु ।
पत्रकारिता र साहित्यका माध्यमबाट महिलाको अधिकार स्थापित गर्न चाहने अभियन्ताकै रुपमा भनिदिनुस्, ‘फर्केर हेर्दा’ र ‘पुरुष’ भित्रका पुरुषहरु कति महिलामैत्री भए ? पुरुषप्रति तपाईंले त आक्रोस नै पोख्नुभएको छ !
आक्रोसभन्दा पनि म पुरुषप्रधान समाजमा महिलाले भोग्नुपरेको अवस्थाको अभिव्यक्ति भन्नचाहन्छु । यो पीडिटहरुको आर्तनाद हो । तर म देख्छु, सबै पुरुष पीडक छैनन् । महिलामैत्री पुरुष पनि छन् । तर अत्यन्त सीमित । केही औंलाभरी गन्न सकिने पुरुषबाहेक अधिकांश पुरुष महिलालाई दवाएरै राख्न चाहन्छन् । जहाँसम्म नयाँ सडकको कुरा छ, पत्रिकाको प्रिन्टलाइनमा नाम आइरहेको मैले विहान घरमा पत्रिका आएपछि थाहा पाएँ, म नयाँ सडक पत्रिकाबाट निकालिइ सकेकी रहिछु भन्ने कुरा ।
मेरो आर्थिक, शारीरिक, मानसिक लगानीको कुनै मूल्यांकन नगरी बाहिर निकाल्दा आक्रोश किन पोखिदैन त ? शुखी संसारको सम्पादकीयमा ‘छोरा जन्माएर मात्र पुरुष मर्द हुदैन, मर्दाङ्गी देखाउन व्यवहार पनि हुनुपर्दछ’ भनेर लेख्नु मेरो आक्रोश नै हो यसमा दुई मत छैन । म पत्रकार भएकोले घरभित्र होस् या घरबाहिर सजिलै शब्द शब्दमा लेखनको मसला पाउँछु । मलाई सानो कुराले पनि नराम्रोसित हल्लाउँछ । अनि त्यो मेरो मनमस्तिष्कमा आएको भूकम्पले मलाई कलम समाउन बाध्य बनाउँछ र पोखिन्छ आक्रोश । ‘फर्केर हेर्दा’ र ‘पुरुष’ भित्रका पुरुषका चरित्र कतिसम्म रिसउठ्ने छन् अनि तिनीहरुको बारेमा आक्रोश नपोखेर के गर्नु त ?
फर्केर हेर्दा र पुरुष कथासंग्रह भित्रका धेरै पुरुष महिलामैत्री छैनन् । तर पनि सबैलाई एउटै डोकामा हाल्न भने म चाहन्नँ । फर्केर हेर्दा कथा संग्रहका कथाहरु सबै बास्तविक घटनामा आधारित कथाहरु हुन् । त्यहाँभित्र ओहो अमेरिका ! वाह अमेरिका का जावेद, उपहार कथाको प्रनोन, रुपा कथाको साजिद, मार्टिना कथाको युशुफ यी महिला मैत्री पुरुषहरु हुन् ।
त्यै कितावभित्रका फर्केर हेर्दा नामक कथाका राधेश्याम, म दोस्रो बिहे गर्न चाहन्छु कथाका दिनेश यी पुरुष कहिल्यै पनि महिलामैत्री हुन सक्दैनन् । त्यस्तै मेरो दोस्रो कथा संग्रह पुरुष भित्रका त्यागका प्रधानपञ्च, मुस्कान कथा भित्रका मुस्कानका श्रीमान्, पहिचान कथाका भिनाजु , भ्यालेन्टाइनको रातो गुलाफ कथाका काका, चारप्रेमिका कथाका बुढा पुरुष कथाको रमेशजस्ता पुरुष पात्रहरु अहिले पनि हाम्रो समाजमा यत्रतत्र भेटिन्छन् । यस्ता पुरुष जिन्दगीको कुनै मोडमा पुगेर पनि महिलामैत्री हुन सक्दैनन् । यस्तै पुरुष कथासंग्रह भित्रकै कतारको कहर नामक कथाका भिनाजु, मुस्कानको कथाका दिनेश, अप्रिलफूलका याकुब, ठुटेका भोला यी पात्रहरु भने महिलामैत्री देखिन्छन् । म प्रष्ट छु, महिला–मैत्री पुरुष नै सही अर्थमा मर्द हुन् ।
कथासंग्रह भनेको हाम्रै समाजको प्रतिविम्व हो भन्ने मलाई लाग्दछ । अनि यसमा भएका पात्र हाम्रो समाजजस्तो छ त्यस्तै आउने त हुन् नि । मेरो दुवै कथासंग्रह यथार्थपरक हुन् त्यसैले कथा भित्रका पुरुष र कथा बाहिरका पुरुष भनेर छुट्याइरहन जरुरी छैन होला भन्ने मलाइ लाग्दछ । जहाँसम्म मेरा दुई कथा संग्रहका पुरुषहरु कति महिलामैत्री छन् भन्ने कुरा त मैले भन्दा पाठकहरुले छुट्याउनु होला । यी दुइ कथासंग्रहका पुरुष त झन स्वदेशका गाँउदेखि विदेश खाडी हुँदै अमेरिकासम्म पुगेका छन् ।
तपाईको कथा लेखन आत्मपरक शैलीमा धेरै छन् । आत्मपरक शैलीमा लेखिएका कथा पढ्दा लेखककै कथा हो कि जस्तो लाग्दछ । के दुई कथासंग्रहभित्र आफ्ना कथा पनि लेखिएका छन् ।
मलाई कथा आत्मपरक शैलीमा नै लेख्न मन लाग्दछ । यथार्थपरक कथा आत्मपरक शैलीमा लेखेपछि त्यसमा जीवन्तता पाउन सकिन्छ । यहाँकै भनाइलाई पैंचो लिदै म पनि भन्दछु त्यस्ता कथा लेखककै हो कि भन्ने पनि पर्दछ । तर साहित्यमा रुचि राख्नेहरुका लागि आत्मपरक शैलीमा लेखिएका सबै कथा लेखककै हुदैनन् भन्ने कुरा सम्झाउनुपर्छ जस्तो मलाई लाग्दैन । तर, आत्मपरक शैलीमा लेखिएको कथाले मलाई जति कसलाई पिरोलेको पनि होला र ? फर्केर हेर्दा कथा संग्रह भित्रको ‘म दोस्रो विवाह गर्न चाहन्छु’ भन्ने शीर्षकको एउटा कथाले मलाई धेरै नै लखेटेको थियो । अहिलेसम्म पनि विवाहका प्रस्तावहरु मेरा म्यासेजबक्समा आइरहेका छन् । यस्ता अप्ठ्याराहरु त बेलाबेलामा आउँछन् तर पनि मेरो लेखनले पाठकलाई मेरै घटना भनेर बुझाउन सफल भएकोले म यसमा पनि खुशी नै छु । विवाहका प्रस्ताव देख्दा हास्दै म साहित्यको कथा विधामा सफल हुदैछु भन्ने गर्व महशुस हुन्छ ।
आत्मपरक शैलीमा लेखिएका मेरा दुई कृतिहरुमा म आफै पनि उपस्थित भएकी छु भन्न पनि म कत्ति पनि हिचकिचाउँदिनँ । तर म खुलेर भन्दछु मेरो पहिलो कथा संग्रह फर्केर हेर्दा भित्र रहेको ओहो अमेरिका ! वाह अमेरिका, रमजान महिना र धर्म परिवर्तनका कुरा, उडायो सपना सबै डिभीले, उपहार, चाहेर पनि बिर्सन नसकिने त्यो दिन, देशभक्ति र शून्यमा एक्लो मानिस कथा भित्रको म पात्र आफै नै हुँ । त्यस्तै पुरुष कथा संग्रह भित्रको टेबुल, के दियौ तिमीले, ठुटे, अप्रिलफूल, क्रिशमसको उपहार र चार प्रेमीका भित्रको म पात्र म आफै हो ।
तपाईले स्वदेश तथा बिदेशमा रहेर काम गरिसक्नु भएको छ । विदेशमा नेपाली महिलाले गर्ने काम र उनीहरुको व्यवहार र साहित्यप्रतिको रुचि कस्तो पाउनु भएको छ ?
विदेशको कुन ठाउँमा नेपाली महिलाहरु पुगेका छन् त्यसमा भर पर्ने कुरा आउँछ । खाडी जाने महिलाहरु अधिकांश पढेलेखेका शिक्षित हुदैनन् । उनीहरुलाई काम र पैसासित मात्र मतलब हुन्छ । नेपालबाट जाँदा लिएको रिण र घर व्यवहारको लागि पैसा पठाउनमा नै उनीहरुको ध्यान केन्द्रित हुन्छ । एक दिन पाउने बिदामा उनीहरु कि त ओभर टाइम गरेर काम गरेको घरमै बस्न रुचाउँछन् कि त साथीभाइसित रमाइलो गरेर बिताउँछन् । उनीहरुको लागि के साहित्य के अरु सितको व्यवहार ?
खाडी मुलुकमै भए पनि इजरायल पुगेका महिलाहरु बेग्लै किसिमका देखिन्छन् । विशेष गरेर केयरगिभरमा पुगेका नेपाली महिलाहरुलाई घरको काम सकेर धेरै समय फुर्सद मिल्दछ आफ्नो लागि बाँच्ने । यो समयको सदुपयोग उनीहरु साहित्यतिर मोडिएर गरेका देखिन्छन् । इजरायल पुगेपछि साहित्यकार बनेर स्वदेश आएका महिलाहरु हाम्रो समाजमा धेरै छन् । विकसित मुलुकमा पुगेका महिलाहरु शिक्षित त छन्, व्यवहारमा पनि अब्बल नै देखिन्छन् । तर उनीहरु घन्टाको हिसाबले काम गर्नुपर्ने भएकोले कामको बोझले थिचिएका हुन्छन् ।
दिनभरिको काम गराइबाट थाकेर बेलुका घरमा पुगेर उनीहरु खाना पनि नखाई सुत्न चाहन्छन् यस्तो अवस्थामा कता साहित्य लेखनमा लाग्नसक्नु । अमेरिका, बेलायत, अष्ट्रेलियातिर पुगेका महिलाले कुनै पनि कृति लिएर हाम्रोसामु आए भने म उनीहरुलाई सलाम गर्न चाहन्छु । त्यस्तो ब्यस्त जीवनशैलीमा पनि साहित्य कोर्नसक्नु तिमी महान महिला हौ भन्न मन लाग्दछ । भर्खरै मात्र सिड्नी सपना नामक कृतिलिएर अष्ट्रेलियाबाट आएकी सानु घिमिरेले पुस्तकमाथिको चर्चा कार्यक्रममा “मैले आफूले सक्ने जति लेखें, यो भन्दा बढी म लेख्नै सक्दिनँ” भनिरहँदा स्वदेशी साहित्यकारहरुले नाक मुख खुम्च्याएका थिए । तर विदेशको व्यस्तताबाट केही घन्टा नसुतेर लेखिएको व्यथा सानुको भनाइमा झल्किएको मैले बुझिरहेकी थिए ।
प्रतिक्रिया