ठमेलको विकासका लागि सरकार र व्यवसायीको सहकार्य जरुरी


काठमाडौँ ।
राजधानीको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको ठमेलको विकासका लागि सरकारसँगै ठमेल क्षेत्रका व्यवसायीको सहकार्य आवश्यक रहेको बताइएको छ । ठमेल पर्यटन विकास परिषद्को २४औँ वार्षिक साधारणसभाका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा काठमाडौँ महानगरपालिका–१६ का अध्यक्ष मुकुन्द रिजालले ठमेलको विकासका लागि स्थानीय सरकासँगै व्यवसायीको पनि उत्तिकै जिम्मेवारी र दायित्व रहेको बताउनुभयो ।

“ठमेल क्षेत्रमा देखिएको विकृति, विसङ्गति अन्त्य गर्दै सुन्दर ठमेल निर्माण गर्न स्थानीय सरकारको पूर्ण साथ र सहयोग रहन्छ, ठमेल क्षेत्रलाई अझै व्यवस्थित बनाएर अगाडि बढ्नु हामी सबैको दायित्व हो”, उहाँले भन्नुभयो ।

काठमाडौँ महानगरपालिका–२६ का अध्यक्ष ख्यामराज तिवारीले अन्तर्राष्ट्रिय बजारका रुपमा रहेको ठमेल विगतको तुलनामा धेरै सुध्रिएको भन्दै आगामी दिनमा झन राम्रो गरेर अगाडि बढ्नुपर्ने आवश्यक रहेको बताउनुभयो । विदेशबाट नेपाल आउने पर्यटकमध्ये ८० प्रतिशत पर्यटक ठमेल आउने गरेको उहाँको भनाइ छ ।

अध्यक्ष तिवारीले ठमेल क्षेत्रले लाखौँ जनतालाई रोजगारी प्रदान गरेको बताउँदै ठमेलका व्यवसायीको लगानीलाई सुरक्षाका लागि परिषद्मा सक्षम नेतृत्व आवश्यक रहेको उल्लेख गर्नुभयो । परिषद्का पूर्वअध्यक्ष रामशरण थपलिया, तेजेन्द्रनाथ श्रेष्ठलगायतले छ हजारभन्दा बढी व्यवसायी रहेको ठमेललाई २४सै घण्टा सञ्चालन गर्ने वातावरण निर्माणका लागि ठमेल परिषद्ले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो ।

विसं २०४७ मा स्थापना भएको परिषद्मा हाल ८०० भन्दा बढी क्रियाशील सदस्य रहेको परिषद्का अध्यक्ष समीर गुरुङले जानकारी दिनुभयो । आजको साधारणसभाबाट १५ सदस्यीय नयाँ कार्यसमितिसमेत चयन गर्नेछ ।
रासस