सांसदद्धारा निर्माणाधिन सडक अनुगमन


हिक्मत नेपाली, दैलेख ।
दैलेख निर्वाचन क्षेत्र नं २ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत निर्माणाधिन सडकको अनुगमन गरिएको छ । प्रतिनीधि सभा सांसद राजबहादुर बुढा सहितको टोलीले सडकको अनुगमन गरेको हो । दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका –४ को बडेजिउला देखि वडा नं. ३ को मोटेलासम्मको सडकको अनुगमन गरिएको थियो । अनुगमनमा क्रममा सांसद बुढाले दैलेख निर्वाचन क्षेत्र नं. २ मा बाटोको समस्या नभएकाले आगामी दिनमा विद्युत र खानेपानीलाई प्रथामिकता दिने बताउनुभएको छ ।

‘सबै स्थानीय तह र वडाका सडकहरुलाई थप गुणस्तरीय बनाउन पर्छ,’ उहाँले भन्नुभयो । आगामी दिनमा विद्युत र खानेपानीलाई प्रथामिकता राख्ने उहाँको भनाई छ । विगतमा केन्द्रीय सरकारको मातहतमा रहेको मजुवा खानेपानी आयोजना हाल प्रदेश सरकार मातहतमा रहेकाले मजुवा खानेपानीमा बजेट प्रदेश सरकारले नै छुट्याउनु पर्नेमा उहाँले बताउनुभयो । चामुण्डाविन्द्रासैनीको खानेपानीको समस्या समधान गर्नका लागि कर्णाली र रामघाटबाट लिफ्टिङ्ग गर्नुका साथै खानेपानीको मुहानलाई संरक्षणमा उहाँको जोड छ । साथै अबको तीन÷चार वर्षभित्र सबै वडामा विद्युत लाईनलाई विस्तार गरिसक्ने उहाँले दाबी गर्नुभयो ।

सांसद बुढाले सरकार र जनताले आ–आफ्नो जिम्मेवारी पुरा गरेपछि मात्र मुलुकलाई अर्थतन्त्रमा मजबुत हुने बताउनुभयो । चामुण्डाविन्द्रासैनी नगरपालिका नगर–प्रमुख सुर्यबहादुर शाहीले विकासका लागि एकताको आवश्यकता पर्ने बताउनुभयो । जिल्ला समन्वय समिति दैलेखका उप–प्रमुख लक्ष्मीदेवी शाहले विगतको तुलना वर्तमान समय विकास निर्माणले तिव्र गति लिएको बताउनुभयो ।

जिल्ला समन्वय समिति दैलेखका सदस्य सर्बराज महतराले आगामी वर्षको नीति तथा कार्यक्रममा आयआर्जनका कार्यक्रमलाई प्रथामिकता दिन सुझाव दिनुभयो । यसैगरी नेपाल कम्युनिष्ट पार्टीका नेता तिलकप्रसाद रिजालले विकास निर्माणका कामलाई सहमतिबाट गर्न आग्रह गर्नुभयो । पार्टीको हितमा हुने गरी जनप्रतिनिधि र कार्यकर्ताले काम गर्नुपर्ने उहाँको सुझाव छ ।