काठमाडौं मेडिकल कलेजको विद्यार्थी कीर्तिपुरको जंगलमा मृत फेला


काठमाडौं ।
काठमाडौं मेडिकल कलेजमा चिकित्सा शास्त्र (एमबीबीएस) चौंथो वर्ष अध्ययनरत शिशिर खनाल मृत फेला परेका छन्। गत जेठ १७ गतेदेखि हराएका उनी शनिबार अपरान्ह कीर्तिपुरको जंगलमा मृत फेला परेका हुन्।

अर्घाखाँची घर भएर कोटेश्वरमा बसी पढ्दै आएका खनालको खोजीमा जुटेको प्रहरीले उनको मोटरसाइकल कीर्तिपुरस्थित पुष्पलाल पार्कमा फेला पारेको थियो। मोटरसाइकल भेटिए पनि उनको पत्तो प्रहरीले पाउन सकेको थिएन।

महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीका अनुसार मृत भेटिएका खनालले प्रारम्भिक अनुसन्धानमा आत्महत्या गरेको शंका छ। खनालका परिवारले प्रहरीलाई जानकारी दिएअनुसार उनी डिप्रेसनको औषधि सेवन गर्दै आएका थिए।

दुईवटा मोबाइल बोकेपनि खनालको फोन स्विच अफ देखिएपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए। डीएसपी बोगटीले भने,‘ हामीले सक्दो खोज्यौं। तर, सकुशल फेला पार्न सकेनौं।’ शव पोस्ट् मार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ।