जनताको घरदैलोमै अदालत


धनवीर दाहाल, रुकुम ।
छिटो छरितो न्याय, सबैका लागी न्याय भन्ने मुल मर्म अनुसार रुकुम जिल्ला अदालतले गाँउ गाँउमा न्यायिक संवाद संचालन गरेको छ । रुकुम पश्चिमका सबै स्थानीय तहहरुमा न्यायिक संवादको संचालन गरेको हो । हरेक स्थानीय तहमा पुगेर अदालतका काम कारर्वाही प्रति जनताको धारणा बुझ्ने र जनताबाट उठेका प्रश्नको जवाफ दिने काम भएको रुकुम जिल्ला अदालतका श्रेष्तेदार शिवहरी सुवेदीले बताउनुभयो ।

न्यायमा जनताको पहुँच बृद्धिका लागी गाँउ गाँउमा न्यायिक संवाद संचालन गरिएको जिल्ला न्यायधिस आत्मदेव जोशीले जानकारी दिनुभयो । भुगोलको हिसावले नेपालकै ठुलो स्थानीय तह मानिएको रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा गरिएको न्यायिक संवाद कार्यक्रममा स्थानीय स्तरमा देखिएका समस्या र न्यायिक समितीले गरेका कामको बारेमा समिक्षा भएको छ ।

न्यायिक समितीका संयोजक गिता नेपालीले पहिलो अभ्यास भएको र केही कानुनी ज्ञानको कमिले सुरु सुरुमा समस्या भएपनि काम गर्दै गर्दा केही सिकाई भएको प्रष्ट पार्नुभयो । अझै कानुनी कुराहरु सिक्न आफुहरुलाई अदालतले सहयोग गर्नुपर्नेमा उहाँको जोड थियो ।

आठबिसकोट नगरपालिकाका प्रमुख गोर्खबहादुुर के.सीले सुरुवाती चरणमा समस्या आउनु स्वभाबिक भएको बताउनुहुँदै काम गर्दै जाँदा धेरै कुराको सिकाई भएको प्रष्ट पार्नुभयो । यसै गरी आठबिसकोट नगरपालिकाले १४ वटै वडाका वडाअध्यक्ष, न्यायिक समितीका सदस्यहरु, मेलमिलापकर्ताहरुको लाई अभिमुखीकरणको समेत व्यवस्था गरेको छ ।