इतिहास बोकेका कुलेखानीका माछा संकटमा



ज्ञानमणि नेपाल कालोटोपी, मकवानपुर ।

मकवानपुरको प्रसिद्ध पर्यटकियस्थल कुलेखानी अर्थात ईन्द्रसरोवर ताल । यही तालको नामबाट यो गाउँपालिकाको नामाकरण गरिएको छ । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकामा पर्ने कुलेखानीका मुख्य विशेषताहरु हुन् जलविद्युत आयोजना, कृत्रिम ताल, माछा र डुंगाको सयर ।

चारैतिर हरियाली जंगलले घेरिएर रहेको यो तालको निलो पानीले जो कोहीलाई पनि मोहित पार्छ । माछा मार्न राखिएको तिहारी (जाल) र डुंगा सयरको दृश्यले कुलेखानी थप हेर्न लायक बनेको छ । ७ किलोमिटर लामो यो तालमा डुंगा सयर गर्दाको मज्जा बेग्लै छ । त्यसैले त यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरुको भिड लाग्छ । पर्यटकहरुको बाक्लो उपस्थितीकै कारण यस क्षेत्रमा होटल, होमस्टे र रिसोर्टहरु राम्ररी फस्टाएका छन् ।

माछाका लागि निकै प्रसिद्ध ठाउँ हो कुलेखानी । चिसो पानीको माछा भएकाले यहाँको माछाको स्वाद बेग्लै छ । माछा उत्पादनका लागि यहाँ मत्स्य व्यवसायी संघ गठन गरिएको छ । जसमा ६८५ जना शेयर सदस्य छन् । यहाँ दिनहुँ माछा मारिन्छ । माछा मार्नका लागि संघले नै कर्मचारी नियुक्त गरेका छन् । उनीहरुले मात्रै माछा मार्न पाउँछन् । यसरी मारेको माछा संघलाई बुझाउनुपर्ने हुन्छ । संघले उक्त माछा विक्रि गरेर उनीहरुलाई वार्षिकरुपमा कमिसन दिन्छ ।

यहाँ माछा मार्ने प्रक्रिया पनि भिन्दै खालको छ । माछा विक्री केन्द्रका व्यवस्थापक जुहारीलाल बलामीका अनुसार यहाँ माछा मार्न जालको प्रयोग गरिन्छ । यसलाई तिहारी पनि भनिन्छ । व्यवसायीले राखेको तिहारीमा एक किलोदेखि ३० किलोसम्मको माछा पर्ने गर्छ । तर, पछिल्लो समय यहाँ माछाको उत्पादन भने ह्वात्तै घटेको उनी बताउँछन् ।

स्थानिय व्यवसायी विक्रम गुरुङका अनुसार यहाँ मारेका माछा लिन बिहानैदेखि संघको बिक्रि केन्द्रमा ग्राहकको भिड लाग्छ । कुलखोनीको कलंकी र मार्खुबाट माछा विक्रि गरिँदै आइएको छ । संघले ५ किलो भन्दा माथिको माछा ३ सय र त्यो भन्दा कम तौलको माछाको २५० र २७५ रुपैंया प्रतिकिलोमा माछा विक्रि गर्दै आएको छ । माछाको माग अत्याधिक भएकाले हप्तामा एक किलो पनि भाग पुर्याउन नसकिएको गुरुङ बताउँछन् ।

विक्रम गुरुङ विगत दुई बर्षदेखि संघमा आवद्ध भएर माछा मार्दै आएका छन् । उनले मासिक २ हजार तलव पाउँछन् । जतिधेरै माछा मार्न सक्यो उनले त्यति नै कमिसन पाउँछन् । तर कहिलेकाँही एउटै माछा नपर्दा भने खिन्न हुने उनी वताउँछन् ।

माछाको माग अत्याधिक हुँदा पनि उत्पादन वृद्धि हुन नसक्दा व्यवसायीहरु चिन्तित छन् । उनीहरुले माछाको भूरा जोगाउन नसकिएको र उत्पादन वृद्धिका लागि संघले पहल गरिरहेको बताएका छन् । अन्यथा यहाँका माछा केहि वर्ष पछि नै लोप हुने र स्थानियस्तरमा यसमै निर्भर व्यवसायीहरु विस्थापित हुने अवस्था आउनेछ ।

अहिलेको अवस्था हेर्दापनि पहिले जस्तो माछा पाईंदैन । उत्पादन र मागको अन्तर निकै ठूलो छ । माछाको उत्पादन घट्नुको कारण पुरानो तरिकाले माछा पाल्नु र समय अनुसार नयाँ जातका माछा पाल्न नसकेको व्यवसायीहरुले बताए । माछाका पारखिको लागि अहिले विभिन्न ठाउँमा मत्स्यपालन केन्द्रहरु खोल्ने गरिएपछि यहाँका माछा उत्पादनमा चासो कम दिन थालिएको छ । आगामी दिनमा यहाँको सौन्दर्य बचाइराख्न र व्यवसाय जोगाइराख्न जनस्तरबाट पहल गर्नु आवश्यक भएको स्थानिय पत्रकार रामजी बलामी बताउँछन् ।

वि.सं. ०४८, ४९ साल भन्दा पहिले यहाँ माछा व्यवसाय त्यति व्यवस्थित थिएन । त्यतिबेला खोला थियो, खोलामा ढडिया, हात्ती जाल, दुवाली छेक्ने गर्दै माछा मार्ने गरिन्थ्यो । अहिले मत्स्य विकास केन्द्रले तालिम दिएर माछा मार्न लगाउँछ । यहाँ ०५३ सालमा रोग लागेर थुप्रै माछा मरेका थिए ।

पहिले व्यक्तिगत जाल राखेर मार्ने गरिएको यहाँका माछा पछि सबैले भाग नपाएपछि संघ बनाएर मार्न थालियो । अहिले संघमा यहाँका २ वटा वडाको शेयर छ । पहिले प्राकृतिकरुपमा रहने माछा त्यहिंको हिलो र माटो खाएर बाँच्थे । उत्पादन पनि राम्रो थियो । तर हिजोआज नयाँ प्रजातीका माछाले दाना खाने भएकाले उत्पादन पहिले भन्दा केहि राम्रो भएपनि विषादी प्रयोग गर्दा सोचे जस्तो उत्पादन हुन छोडेको हो । आवश्यक दाना नपुगेर पनि उत्पादन कम भएको स्थानिय बताउँछन् । यहाँका कर्मचारी पाल्नलाई नै धौ धौ छ । तराईबाट भूरा ल्याएर पाल्ने गरिएको यहाँ भेकुर, कत्ले, विगेट, सिल्भर, नैनी जातका माछा पाइन्छन् ।

कुलेखानीमा माछा मार्ने प्रक्रिया अलि फरक छ । साँझ ४÷५ बजेतिर तिहारी राखिन्छ । रातभरी जति माछा पर्याे त्यति बिहान निकालिन्छ । यहाँबाट एकदिनमा ९ सय किलोसम्म निकालिएको बताउने व्यवसायीहरु कहिलेकाँही त शुन्य अवस्था पनि आएको अनुभव सुनाउँछन् । हप्तामा कहिलेकाहीं एक किलो पाउन पनि गाह्रो भएपछि अहिले संघलाई चुनौती थपिएको छ ।

नयाँ प्रजाती तथा धेरै चिसो पानीले गर्दा यहाँ एक लाख भुराहरु राख्दा पनि २० हजार जति मात्रै बच्ने गरेका छन् । वरीपरि बस्ती भएकाले तरकारी लगाउँदा त्यहाँ हालेको विषादी पानीमा बगेर आएपछि यहाँ सोचे जस्तो माछा उत्पादन हुन नसकेको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्