दाङकाे हेमन्तपुरबाट रेडियो नेपालको प्रादेशिक प्रसारण उद्घाटन


नरेन्द्र केसी, दाङ ।
दाङको हेमन्तपुरबाट रेडियो नेपालको प्रादेशिक प्रसारण शुरु भएको छ । प्रदेश नम्बर ५ को प्रादेशिक प्रसारणको शुक्रवार सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले उद्घाटन गर्नुभएको हो ।

हरेक दिन दिउँसो सवा ३ बजेदेखि ६ बजेसम्म थारु, अवधि र मगर खाम भाषाका कार्यक्रम सञ्चालन हुनेछन् । नयाँ भवन र स्टुडियो निर्माण भएपछि दैनिक छ घण्टा कार्यक्रम सञ्चालन हुने रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले जानकारी दिनुभयो । संघीयताको मर्मअनुरुप रेडियो नेपालको पुनर्संरचना गर्ने क्रममा प्रादेशिक प्रसारण शुरु गरिएको उहाँले बताउनुभयो ।

यसअघि साविक पाँच विकास क्षेत्रका क्षेत्रीय प्रसारण पाँच प्रदेशका प्रादेशिक प्रसारणमा बदलिएको जानकारी दिंदै उहाँले भर्खरै प्रदेश नम्बर २ को बर्दिबास र प्रदेश नम्बर ५ को दाङबाट प्रसारण शुरु गरेसँगै अब रेडियो नेपाल सातवटै प्रदेशमा पुगेको उहाँले बताउनुभयो । प्रादेशिक प्रसारणका लागि भवन निर्माण गर्न भवन अभाव परिरहेको बेला पूर्वअर्थमन्त्री कृष्णबहादुर महराको पालामा बजेट स्वीकृत भएपछि निर्मााणको काम थालिएको उहाँले जानकारी दिनुभयो । दाङको हेमन्तपुरमा बन्ने भवनको शिलान्यास पनि शुक्रवार नै सञ्चार तथा प्रविधिमन्त्री बास्कोटाले गर्नुभएको छ । २ करोड १७ लाख ७६ हजार २ सय ६५ रुपैयाँको लागतमा निर्माण हुने भवनको नौ महिनाभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको छ । निर्माण कम्पनीले भवन निर्माणको काम पनि शुक्रवारदेखि नै शुरु गरिसकेको छ ।

प्रादेशिक प्रसारणको उद्घाटन गर्दै सञ्चारमन्त्री बास्कोटाले सूचना प्रविधिमा आम नागरिकको पहुँच स्थापित गर्ने सरकारको लक्ष्य रहेको बताउनुभयो । पहिले धेरै खेत र गाइबस्तु हुने व्यक्ति धनी हुने गरेको उल्लेख गर्दै उहाँले अहिले धेरै सूचना हुने व्यक्ति सम्पन्न हुने भएकाले सूचना प्रविधिमा आम नागरिकको पहुँच स्थापित गर्नु सरकारको प्राथमिकता भएको बताउनुभयो । अहिलेसम्म हुनेखानेको मात्रै सूचना प्रविधिमा पहुँच भएकाले अब आम नागरिसम्म पहुँच स्थापित गर्नु सरकारको उद्देश्य रहेको उहाँले बताउनुभयो ।

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बास्कोटाले अहिलेसम्म उल्टो दिशातिर अघि बढेको मुलुकको विकासले अब सुल्टो दिशा समातेको पनि बताउनुभयो । केन्द्रलाई आधार मानेर बजेट बनाउने र सोहीअनुरुप विकास निर्माण गर्ने नीतिमा परिवर्तन गरी अब स्थानीयस्तरका जनतालाई आधार मानेर विकास निर्माण गर्न थालिएको उहाँले बताउनुभयो । अहिले देशभरि काम भइरहेको बताउँदै उहाँले नतिजा आउन थालेपछि बल्ल काम भएको देखिने बताउनुभयो । अब पाँच बर्षमा चमत्कार हुने दावी गर्दै उहाँले रेलको बिषयमा उडाउनेलाई आफूहरुले रेडमै बसाएर गुडाउने दाबी गर्नुभयो ।