प्रधानमन्त्री रोजगार कार्यक्रम, संमृद्धिका विरोधीहरुले जनतालाई भड्काउन खोजे


पुष्कर बुढाथोकी, भक्तपुर ।
प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्धिको मार्गमा डोर्याउन सबै नेपाली एक जुट हुनुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमको भक्तपुरमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्र निर्माणको महान अभियानको रुपमा कार्यक्रम सुरु भएको बताउनुभयो ।
सरकार हरेक दिन नयाँ–नयाँ कामका साथ अघि बढिरहेको बताउनुहुँदै उहाँले बेरोजगार युवालाई रोजगारमा जोड्न कार्यक्रमले सहयोग पु¥याउने बताउनुभयो । प्रधानमन्त्री ओलीले देशैभरि अभियानकै रुपमा सञ्चालन हुने कार्यक्रमले युवाहरुलाई रोजगारीको अवसर सिर्जना गरेको बताउनुभयो । ‘अब कोही पनि काम नपाएर विदेशिनु पर्दैनँ, स्वदेशमै रोजगारी मिल्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

उहाँले अब कोही भोकै मर्नुपर्ने अवस्था नआउने बताउनुभयो । सरकार संमृद्ध नेपाल, सुखी नेपालीको अभियानमा जुटेको भन्दै उहाँले संमृद्धिका विरोधीहरुले जनतालाई भड्काउने कोसिस गरिरहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले अझैपनि राजतन्त्र चाहने तत्वहरु जीवित रहेको बताउनुभयो । ‘तथाकथित क्रान्तिका नाममा चन्दा उठाउने, लुटपाट गर्नेहरु सक्रिय भएका छन्, तर त्यो सफल हुदैनँ,’ उहाँले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले सरकार ‘डिजिटल नेपाल’ बनाउन लागिपरेको बताउनुभयो प्रधानमन्त्री ओलीले मुलुक लोकतान्त्रिक गणतन्त्रमा विकास र संमृद्धिको उत्सव मनाउदै गर्दा अझैपनि राजतन्त्र चाहने मुर्खहरु छन् भन्नुभयो । मुलुकमा सरकार विरोधी केही तत्वहरु सक्रिय भएको र क्रान्तिका नाममा चन्दा उठाउने, बम पड्काउने, लुटपाट गर्नेहरुलाई सफल हुन नदिने बताउनुभयो ।

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री गोकर्ण विष्टले सरकारले बेरोजगार युवालाई स्वरोजगार बनाउन ‘प्रधानमन्त्री स्वरोजगार कार्यक्रम’ लागू गरेको बताउनुभयो । उहाँले चालु आर्थिक वर्षमा एक महिनामात्रै कार्यक्रम सन्चालन हुने र आगामी वर्षबाट अझै व्यवस्थित रुपमा देशैभरि कार्यक्रम सन्चालनकालागि बजेटको व्यवस्था गरेको बताउनुभयो । ‘कार्यक्रमले श्रमप्रति सम्मान गर्छ, गरिबी, अभाव र बेरोजगारीको अन्त्य गर्छ,’ उहाँले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले सवुर्ण चोकदेखि तीनधारा जाने सडक निर्माणको प्रारम्भ गर्नुभयो । शुक्रबारबाटै भक्तपुरका चार वटै नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ ।

कार्यक्रमबाट पहिलो चरणमा भक्तपुरका तीन वटा नगरपालिकाका करिब ७ सय बेरोजगार युवालाई रोजगारी पाएका छन् । करिव १ हजार ५ सय युवाहरुले भने बेरोजारको सुचिमा नाम दर्ता गराएका थिए । सो अवसरमा ओलीले सवुर्ण चोकदेखि तीनधारा जाने सडक निर्माणको प्रारम्भ गर्दै कार्यक्रमसँग आवद्ध भएका युवाहरुलाई सावेल लगायत उपकरण हस्तान्तरण गर्नुभयो ।श्रम सचिब महेश दाहालले प्रधानमन्त्री रोजगार कार्यक्रमको उदश्य माथि प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा प्रदेश सांसद रजनी जोन्छे,सुर्यबिनायक नगरपालिकाका प्रमुख बासुदेब थापा,चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्र,मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ लगायतले कार्यक्रमलाई सफल पार्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । भक्तपुरका चार वटै नगरपालिकाको सहभागिता हुने भनिएपनि भक्तपुर नगरपालिकाले यो कार्यक्रममा सहभागिता जनाएन ।