सर्वोच्चको आदेशमा ज्ञानेन्द्र शाही रिहा


नेपाल समाचारपत्र, काठमाडौं ।
भ्रष्टाचार विराेधी अभियानका अभियान्ता ज्ञानेन्द्र शाही रिहा भएका छन् । शाहीलाई गैरकानूनी थुनामा राखिएको भन्दै परेको बन्दी प्रत्यक्षीकरणको रिटमा न्यायधीशद्वय आनन्दमोहन भट्टराई र हरि फुयालको संयुक्त इजलासले शुक्रबार रिहा गर्न आदेश दिएको हो।

रिहा भएसंगै जनताहरुले यो जीत कस्काे जनताकाे, ज्ञानेन्द्र शाही जिन्दावाद, भ्रष्टाचारीलाई कारवाही गर लगायतका नाराहरु घन्किएका छन् । ह्विल चियरमा बसेका शाहीलाई हजारौ समर्थकले घरेर बाहिर ल्याएका थिए ।

पत्रकारहरुलाई गालीगलौज गर्दै अन्तर्वार्ता दिएको आरोपमा शाहीलाई जेठ १५ गते प्रहरीले सुर्खेतको खुल्लामञ्चबाट पक्राउ गरेको थियो । उनले आफूमाथि प्रहरीले निर्घात कुटपिट गरेर चरम यातना दिएकाे आराेप लगाएका छन् । तर प्रहरीले भने उक्त आरोप नकारेकाे छ ।

गत वैशाख १८ गते आफ्नो पत्रकार सम्मेलनमा नआएको भन्दै सुर्खेत र कर्णालीका पत्रकारलाई गालीगलौज गर्दै शाहीले भिडियो पोष्ट गरेका थिए। शाहीविरुद्ध सोही दिन नेपाल पत्रकार महासंघ सुर्खेत शाखा र कर्णाली प्रदेश समितिले प्रहरीमा जाहेरी दिएका थिए। प्रहरीको जाहेरीका आधारमा जिल्ला अदालत सुर्खेतले बैशाख १९ गते पक्राउका लागि वारेन्ट जारी गरेको थियो।