मुख्य न्यायाधीवक्ताद्वारा राजिनामा


हेटौंडा ।
प्रदेश–३ का मुख्य न्यायाधीवक्ता सूर्यचन्द्र न्यौपानेले पदबाट राजिनामा दिनुभएको छ । न्यौपानेले मुख्यमन्त्री कार्यालयमा बिहीबार राजिनामापत्र बुझाउनुभएको हो ।

मुख्यमन्त्रीको अनुपस्थितिमा उहाँले प्रमुख सचिव आनन्दराज ढकालसमक्ष राजिनामा बुझाउनुभएको थियो । न्यौपानेले २०७५ फागुन २३ गते मुख्यन्यायाधीवक्ताको पदभार ग्रहण गर्नुभएको थियो ।

मुख्यमन्त्री डोरमणि पौडेल र मन्त्रीहरु कसैसँग पनि समस्या निम्तिएको नभएर आफंैले राजिनामा दिएको उहाँले बताउनुभयो । आफू स्वतन्त्र भएर काम गर्न चाहने र मुख्यन्यायाधीवक्ता भएपछि बाँधिएर काम गर्नुपर्ने भएकोले पदबाट राजिनामा दिएको उहाँले दाबी गर्नुभयो ।

मुख्यमन्त्री पौडेल उपचारमा रहेका बेला उहाँको राजिनामा आएको हो । मुख्य न्यायाधीवक्ताको राजिनामा प्रदेश प्रमुखले स्वीकृत गर्ने कानुनी व्यबस्था छ । वरिष्ठ अधिवक्तासमेत रहनुभएका न्यौपानेले मुख्य न्यायाधीवक्ताको जिम्मेवारी र भूमिका राजनीतिक नियुक्ति र मर्यादा जस्तो नभएर एउटा सामान्य कर्मचारीजस्तो भएकै कारण आफूले राजिनामा दिएको बताउनुभयो । ‘मुख्यन्यायाधीवक्ताबाट राजिनामा दिएर मैले मुख्यमन्त्रीलाई काम गर्ने बाटो खोलिदिएको हुँ,’ उहाँले प्रतिक्रिया दिनुभयो ।

रेडक्रसको चुनाबमा पार्टीले गरेको ह्विप नमानी मकवानपुरका भोला रुपाखेतीलाई उम्मेदवार बनाइएपछि मुख्यमन्त्री पौडेललाई न्यौपाने हटाउन नेकपाका नेताको दबाब थियो । नेपाल रेडक्रस सोसाइटी प्रदेश–३ को चुनाब र केन्द्रीय महाधिवेशनमा नेकपाको आधिकारिक उम्मेदवारलाई सहयोग नगरेको भन्दै मुख्यमन्त्री पौडेल र मुख्यन्यायाधीवक्ताबीच असमझदारी बढेको बताइन्छ ।

न्यायाधीवक्ता कार्यालयलाई प्राप्त १ करोड २० लाखमा कर्मचारीलाई २० लाख तलब÷भत्तापछि बाँकी पैसाले न्यौपाने सुविधायुक्त गाडी किन्न चाहनुहुन्थ्यो । तर, विवाद हुन्छ भनेर मुख्यमन्त्री कार्यालयले स्वीकृति दिएन ।