मापदण्ड विपरीतका नौ पेट्रोल पम्प बन्द


बारा ।
मापदण्डविपरीत अवैधरूपमा सञ्चालित ९ वटा पेट्रोलपम्पलाई जिल्ला प्रशासन कार्याल, बाराले बन्द गराएको छ । उपभोक्तालाई कम परिमाणमा इन्धन दिएर ठगी गर्नेदेखि दशगजानजिक भारततर्फ तस्करी गर्ने र सार्वजनिक तथा सडकको जग्गामा सञ्चालित पेट्रोलपम्प बन्द गरिएको हो

बन्द गराइएका पेट्रोलपम्पहरूमा राजमार्ग छेउका ६ वटा, सिमावर्ती दशगजा छेउका २ वटा र सदरमुकाम कलैया उपमहानगरपालिकाको एउटा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । नेपाल आयल निगम क्षेत्रीय डिपो अमलेखगन्जले प्रशासनले बन्द गरेका ९ वटै पेट्रोलपम्पलाई ईन्धन आपूर्तिसमेत रोक ल गाएको छ ।

जिल्ला प्रशासनले वीरगन्ज–पथलैया ६ लेनको सडक मिचेर जवरजस्ती सञ्चालन गर्दै आएका ५ वटा, सिमा नाका हुँदै भारत तस्करी गर्ने २, उपभोक्तालाई कम परिमाणमा इन्धन दिएर ठगी गर्ने कलैयाका एक र सार्वजनिक जग्गामा किर्ते प्रमाण पेश गरेर नितनपुरमा सञ्चालित एक पेट्रोलपम्प बन्द गरेको हो ।

सडकको सिमा क्षेत्रभित्र सञ्चालित राहुल आयल स्टोर, कतारुका अटोमोबाइल्स, अपना आयल स्टोर, अटोकेयर सेन्टर, तराई पेटोलियम, सार्वजनिक जग्गामा सञ्चालित रामपुर टोकनीको चित्रगुप्ता आयल बन्द गराएको हो । त्यस्तै दशगजाभन्दा क्रमशः ९ सय र ५ सय मिटरभित्र सञ्चालन हुँदै आएका सुवर्ण गाउँपालिका–३ को आयुष आयल स्टोर र पचरौता नगरपालिका–४ बेल्दारीको अमन एन्ड सुमन आयल स्टोर र उपभोक्तालाई कम परिमाण बिक्री गर्दै आएको कलैया उपमहानगरपालिका–२ को जगदम्बा आयल स्टोरलाई प्रशासनको आदेशमा निगमको अमलेखगज डिपोले ईन्धन आपूर्ति बन्द गरेको हो ।

जिल्लाको सिमानजिकै रहेका आयुष आयल स्टोर र अमन एन्ड सुमन आयल स्टोरले नेपाली उपभोक्तालाई इन्धन नदिई भारततिर निकासी गर्ने गरेको गुनासो आएपछि प्रशासनले नियमन गर्दा गल्ती भेटिएपछि कारबाहीमा परेका हुन् । नेपालमा भन्दा भारतको बिहारमा डिजेल र पेटोलमा प्रतिलिटर मूल्य २० रूपैयाँ फरक रहेको छ ।

डिपोका प्रवक्ता मनोकामना तिवारीले मापदण्डविपरित विगतदेखि सञ्चालनमा आएका पेट्रोलपम्पलाई गुणस्तर तथा नापतौल विभाग र प्रशासनले अवैध ठहर गरेपछि आपूर्ति रोकिएको बताए । प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले पेट्रोलपम्पमा अनियमितता भएको गुनासो आएपछि निगमन गर्दा गल्ती भेटिएकाले कारबाही गरिएको बताए । उनले अन्य पेट्रोलपम्पका विषयमा समेत छानबिन भइरहेको जानकारी दिए ।