सीप सिक्दै कैदीबन्दी !


सलिम अन्सारी, प्युठान ।
आत्मनिर्भर हुन चाहने प्युठान कारागारका कैदीबन्दी भित्रै सीप सिक्न थालेका छन् । कैदीबन्दीको आयआर्जनका लागि कारागार भित्रै सीपपमुलक तालिम सञ्चालन गरिएको हो ।

तालिम लिएपछि कारागारमा बस्दै आएका कैदीबन्दी सीप विकासतर्फ लाग्ने भएका छन्।जिल्ला प्रशासन कार्यालय प्यूठानले पुरूष कैदिबन्दिका लागि १ महिने अल्लोको कपडा बुन्ने तालिम र जिल्ला कारागार कार्यालयले महिला कैदिबन्दिका लागि १० दिने अल्लोको धागो उत्पादन तालिम सञ्चालन गरेको हो। तालिमको उद्धघाटन गर्नुहुँदै प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले कैदीबन्दीको सीप विकास गरी आयआर्जनतर्फ अघि बढाउन तालिम सञ्चालन गरिएको बताउनुभयो।

’कारागारमा बसेका कैदीबन्दीको समय त्यसै खेर गइरहेको छ। यो समयमा उनीहरुलाई सीप दिन सक्यौं भने आम्दानी गर्छ सक्छन्। नराम्रा कुरा सोच्दैनन्। उनीहरुको आचरण सुधार हुँदै जान्छ’, गैह्रेले भन्नुभयो।’ तालिमबाट सिकेर व्यवहारमा उतार्न आवश्यक छ।’

तालिम लिएका कैदीबन्दीले कारागारमा बस्दा मात्र नभई कैद भुक्तान गरी सकेपछि पनि तालिम उपयोगी हुने प्रजिअ गैह्रेको बिश्वास छ।तालिममा १९ पुरुष र १३ महिला कैदीबन्दी सहभागी छन्। यसबाट आयआर्जन र रोजगारको अवसर सिर्जना हुने बिश्वास लिइएको छ । अल्लो उध्यमी खिम बहादुर बुढा मगर र चित्रकला बुढामगरले तालिमको सहजिकरण गरिरहेका छन् ।