गुण्डाका नाइके राधे हतियारसहित पक्राउ



नेपाल समाचारपत्र, काठमाडाैँ ।
धादिङलाई कार्यक्षेत्र बनाएर लामो समयदेखि आपराधिक क्रियाकलापमा संलग्न हुँदै आएको राधे भन्ने राधाकृष्ण भण्डारीसहित केही स्थानीय गुण्डालाई प्रहरीले पक्राउ गरेको छ।

नेपाली कांग्रेसको आवरणमा धादिङ जिल्लाका प्रायः सबै विकास निर्माणको ठेक्का हत्याउने र समयमा कामसमेत नगर्ने गुण्डाका नाइके भण्डारीलाई नेपाली कांग्रेस धादिङले संरक्षण दिँदै आएको छ। नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलको धादिङ उपाध्यक्षसमेत रहेका भण्डारीलाई यसअघि प्रशासनले पटक–पटक पक्राउको तयारी गरे पनि कांग्रेस नेताहरूले उनलाई जोगाउँदै आएका थिए। तत्कालीन नेकपा एमाले निकट रहेका दिनेश अधिकारी ‘चरी’ प्रहरी इन्काउन्टरमा मारिएपछि धादिङमा राजनीतिको आवरणमा अपराध कर्म गर्दै आएको भण्डारी समूहलाई कसैले पनि नियन्त्रणमा लिन सकेको थिएन। हप्ता असुलीदेखि विभिन्न अपराधमा संलग्न रहेका भण्डारीले छोटो समयमा अत्याधिक सम्पत्ति कमाएका छन्।

गुण्डाका नाइके भण्डारीले चरीलाई समेत हत्या गर्ने प्रयास गरी तीनथानामा गोलीसमेत हानेका थिए। प्रहरीले उनलाई पक्राउ गरेको भए पनि कांग्रेसका नेताको दबाबमा त्यसबेला छुट्न सफल भएको थियो। पछिल्लोपटक भण्डारीसहितको टोलीले धादिङको बेनिघाट रोराङमा प्रहरीमाथि समेत आक्रमणको प्रयास गरेको थियो।

राधेको टोलीले स्थानीयलाई धम्की दिएर कुटपिट गर्नुका साथै प्रहरीमाथि आक्रमण गरेको थियो। सो टोलीले जनक मगरसहितका स्थानीय बुढाबुढीमाथि समेत आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ। प्रहरीले उक्त काण्डमा संलग्न रहेका भण्डारीसहित नीलकण्ठ नगरपालिका–३ बस्ने सुजन लामा, विमल शाह ठकुरी, काजी शाक्य, समीर थापामगरलाई नियन्त्रणमा लिएको छ।

बेनिघाट रोराङ गाउँपालिका–३ स्थित मलेखु–ताल्ती कच्ची सडकमा कर उठाउने ढाटको ठेक्का हत्याएको भण्डारीले आफ्ना स्थानीय हुल्याहा युवाहरूलाई परिचालन गरी खाजा खाएको, फोहर नफालेको विषयलाई लिएर खुकुरी प्रहार गर्दा जनक मगर घाइते भएका थिए। मगरमाथि भण्डारीको समूहले आक्रमण गर्न थालेपछि छुट्याउन गएका वृद्ध, महिला, केटाकेटीमाथि समेत आक्रमण गरेको प्रहरीले जानकारी दिएको छ।

सो समूहले आफ्नो रवाफ देखाउन केहीबेर सडकसमेत अवरोध गरेको थियो। इलाका प्रहरी कार्यालय गजुरीले राधेको साथबाट केही हतियारसमेत बरामद गरेको छ। उनीहरूविरुद्ध ज्यान मार्नेविरुद्ध कारबाही अगाडि बढाइने प्रहरीले जानकारी दिएको छ। यता राधेलाई छुटाउन अहिले कांग्रेसका उच्च नेताहरूले प्रहरीलाई दबाब दिन थालेका छन्।

प्रतिक्रिया दिनुहोस्