सरकार जंगबहादुर बन्न खोज्यो ः अध्यक्ष ढकाल



नेपाल समाचारपत्र, काठमाडांै
निजामति कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले सरकार जंगबहादुरजस्तो बन्न खोजेको आरोप लगाउनुभएको छ।

बिहीबार सिंहदरबारस्थित आफ्नै कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ढकालले सरकारले कर्मचारीका मागलाई सम्बोधन नगरेको भन्दै आपत्ति जनाउनुभयो। ‘सरकार वास्तवमा तानाशाही र जंगबहादुरजस्तै भएको छ। कर्मचारीलाई बेवास्ता गरेर सरकारको लक्ष्य पूरा हुन सक्दैन’, ढकालले भन्नुभयो– ‘कर्मचारी कहिल्यै पनि सरकारको विरुद्धमा हुँदैनन् तर पनि सरकारले हाम्रो मूल्यांकन गर्दैन।’

उहाँले सरकारले आधिकारिक युनियनलाई खेलौना बनाइएको आरोप पनि लगाउनुभयो। ढकालले बजेट निर्माणका क्रममा पटक–पटक अर्थमन्त्री र अर्थसचिवलाई भेट्न खोज्दा पनि समय नदिएकामा पनि सरकार कर्मचारीप्रति अनुदार भएको भन्ने प्रष्ट भएको गुनासो गर्नुभयो।

आधिकारिककै उपाध्यक्ष भोलानाथ पोखरेलले सरकारले कर्मचारी समायोजनका नाममा सामान्य कर्मचारीलाई दुःख दिएको बताउनुभयो। ‘कर्मचारी समायोजन सकिएको छैन, विभेद भएको छ समायोजनमा’, पोखरेलले भन्नुभयो– ‘सरकारको शैली विश्वासिलो हुन सकेन, कर्मचारीको मनोबल बढाउनुको साटो हतोत्साहित पार्ने मात्र काम भएको छ।’ पोखरेलले आफूहरूबीच केही समस्या भए सरकारसँग बसेर छलफल गर्न र गलत गरेको भए सुध्रिनसमेत तयार रहेको बताउनुभयो।

युनियनको स्थापना दिवसका अवसरमा केही दिनअघि संघीय, मामिला तथा सामान्य प्रशसनमन्त्री लालबाबु पण्डितलाई आफ्ना गुनासा सुनाएको भन्दै संस्थाले कर्मचारीका सबै प्रकारका समस्या सुन्न सरकार तयार हुनुपर्ने बताएको छ। २०७२ साल जेष्ठ १९ गते भएको निर्वाचनबाट आधिकारिक ट्रेड युनियन गठन भएको थियो। युनियनको कार्यकाल ४ वर्षको रहेको छ। युनियनले ४० बुँदे माग राखेको छ।

प्रतिक्रिया दिनुहोस्