यौन दुव्र्यवहारको आरोप, प्रधानाध्यापक पक्राउ



नेपाल समाचारपत्र, ललितपुर

ललितपुरको बागमती–४ प्युटारस्थित फुर्केडाँडा आधारभूत विद्यालयका प्रधानाध्यापक रामनारायण यादव आठ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका छन्।

बालिकाले महिला शिक्षक र आफ्नो घरमा दिएको बयानका आधारमा उजुरी आएपछि प्रअ यादवलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त चापागाउँले जनाएको छ। कक्षा ३ मा अध्ययनरत बालिकाले आफू गत आइतबार यौन दुव्र्यवहारमा परेको बयान दिएकी थिइन्।

बालिका विद्यालय जान नमानेपछि अभिभावक वडा कार्यालय पुगेका थिए। वडाध्यक्ष नारायण घलेले बालिकाले बयान दिएको यौन दुव्र्यवहार जस्तो विषय आफूले मिलाउन नमिल्ने भएकाले प्रहरीमा जान सुझाव दिनुभएको थियो। ‘बालिकाले महिला शिक्षक र अभिभावकलाई बयान दिइछन्। शिक्षकको भनाइ पनि सुनियो। मिलाउने कुरा नदेखिएपछि प्रहरीलाई खबर गरेको हो’, वडाध्यक्ष घलेले बताउनुभयो।

तर ती शिक्षकले विद्यार्थी सुस्त मनस्थितिकी रहेको र गृहकार्य नगरे छाला खुइलिने गरी सजाय दिन्छु भनेको वडाध्यक्ष घलेले दावी गर्नुभयो। यादबलाई प्रहरी चौकी आश्राङको प्रहरीले पक्रेर वृत्तमा बुझाएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्