डोटीमा खानेपानीको हाहाकारः धारा सुके, खोलाको पानी पीउन बाध्य


विमल विष्ट, डोटी ।
बिगत केही दिन यता देखी डोटीमा खानेपानीको समस्या सुरु भएको छ । खानैपानीको धारामा पानी आउन बन्द हुन थालेपछि यहाँका स्थानियबासीहरु पुराना धारा,नदी,प्रचिन ढुंगेधारा तथा खोलाको पानी खान बाध्य भएको स्थानियबासीहरु बताउछन् । खानेपानीको अभावमा यहाँका होटेल व्यवशाय संकटमा पर्न थालेको बताइएको छ ।

यहाँका बजारका अधिकांस होटेल व्यवसायी पानीको अभावमा संकटमा पर्नथालेको स्थानियबासी भरत कठायतले बताउनुभयो । उहाँले भन्नुभयो, “धारामा पानी आउनै बन्द भयो,सबैभन्दा बढी मार होटल व्यवसायीलाई परेको छ ।” खानेपानीका मुहानहरु सुक्न थालेका कारण खानोपानीको धारामा पानीको मात्रा घटेको दिपायलमा पानी बितरण गर्दै आएको राजपुर खानेपानी तथा उपभोक्ता समितिको कार्यालयले जनाएको छ ।

खानपानीको मुहान सुक्न थालेका कारण यहाँको खानेपानी तथा उपभोक्ता समितिले बिहान र बेलुका गरी करिब एक घण्टा मात्रै पानी बितरण गर्न थालेको छ ।
केही दिन यता देखी जिल्लामा खाने पानीको समस्या उत्पन्न भएपछि जिल्ला कारागारमा रहेका कैदीबन्दिहरुलाई पनि समस्या भएको छ । उनिहरुलाई लुगाधुन,नुहाउन तथा खाना पकाउनमा बढी समस्या भएको बताईएको छ ।

त्यस्तै पानी अभाबमै कैदीबन्दिलाई सौच गर्नमा पनि समस्या भएको छ । पानी अभावमा ग्राहकलाई खाना खुवाउन निकै सास्ती हुदै आएको दिपायल पिपल्लाका होटेल व्यवसायी मोहन पातलीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पानी बोक्नै लागि एक जनालाई दिनभरी डिउटी दिनु परेको छ, पिउनसम्म पानी अभाव हुन थालेपछि होटलमा ग्राहक राख्न छाडिएको छ ।”

होटेलमा बास बसेका ग्राहकले पानीको अभावमा शौचालय प्रयोग गर्न पनि नपाएको गुनासो समेत गर्ने गरेका छन् । त्यस्तै जिल्लाको आर्दश गाउँपालिका नुवाकोटमा पानीको हाहाकार भएको स्थानिय भुवनप्रशाद भट्टले बताउनुभयो ।

वडाभरीमा पानीको हाहाकार हुदा स्थानियहरु राती देखी नै पानीकालागि लाईन बस्ने गरेको उहाँको भनाई छ ।