एनसेल कर प्रकरणः सर्वोच्चमा पूर्ण इजलासमा सुनुवाई सुरु, अर्को पेशी असार १० गते


नेपाल समाचारपत्र, काठमाडौं ।

टेलिकम्युनीकेसन कम्पनी ऐनसेलको कर निर्धारणको विषयमा सर्वोच्च अदालतको बृहत पूर्ण इजलासमा सुनुवाई सुरु भएको छ ।

न्यायाधीशहरु तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही, सुष्मालता माथेमा र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासमा एनसेलको कर विवादमाथिको सुनुवाई सुरु भएको हो । मंगलबार एनसेलका तर्फबाट कानून व्यवसायीहरुले धारणा राखेका छन् । तर यो क्रम नसकिएपछि अर्को पेशी असार १० गतेका लागि तोकिएको छ ।

सर्वोच्च अदालतका अनुसार न्यायाधीशहरु विभिन्न जिल्लामा अदालत निरीक्षणमा जानुपर्ने भएकाले अर्को पेशी असोज १० गतेका लागि मात्र तोकिएको हो । गत वैशाख ३ गते ठूला करदाता कार्यालयले ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८ सय १५ रुपैयाँ कर निर्धारण गरेपछि त्यसविरुद्ध एनसेल वैशाख ९ गते सर्वोच्च गएको थियो ।

उक्त रीटमाथि सुनुवाई गर्दै न्यायाधीशहरु सपना मल्ल प्रधान र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले यो विषयलाई जेठ २१ गते बृहत पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो । सोही अनुसार मंगलबार वृहत पूर्ण इजलासमा सुनुवाई सुरु भएको हो ।