अनुदान प्रभावकारी नभएपछि लिसंखुपाखरमा सरल कर्जाको अवधारणा


नानीराम नेपाल
सिन्धुपाल्चोक ।
कृषि र पशुपालनको अनुदान पहुँचवालाकै गोजीमा पुग्नेगरेको चर्चा चलिरहँदा सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकाले अनुदानलाई सरलकर्जाका रुपमा परिचालन गर्न लागेको छ ।

चालु आथिक वर्षको कृषि तथा पशुपालनको अनुदानको बजेटलाई सरल कर्जामा रुपान्तरण गरि त्यसलाई प्रभावकारी परिचालन गर्न लागिएको लिसंखुपाखर गाउँपालिकाले जानकारी दिएको छ ।

कृषि र पशुपालनका नाममा अनुदान रकम लिने र उदेस्य अनुसारका कामै नगरी पचाउने क्रम देशैभर छ । अनुदानले जनतालाई अल्छी र आसामुखीमात्रै बनाएको भन्दै सरल कर्जाको अवधारण अघि सारीएको लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष कमल नेपालले बताउनुभयो ।

‘अनुदान भनेपछि राज्यको बजेट ब्यक्तिका गोजीमै बस्नथाल्यो, पैसा जान्छ तर लक्षित समुदायका जीवनस्तर उठ्दैन’, अध्यक्ष नेपालले भन्नुभयो, ‘अनुदान रकमको सहि परिचालनका लागि हामीले सरलकर्जाको अवधारण ल्याएका हौं ।’

लिसंखुपाखर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालका अनुसार अनुदानको रकमबाट सरल कर्जाका लागि कोष नै स्थापना गरिनेछ । त्यही कोषबाट कृषकहरुले समुहगत रुपमा सरल कर्जा लिन सक्नेछन् ।

पाँचवर्षसम्म न्युनतम ब्याजदरमा सो कोषको रकम चलाएपछि उनीहरुले फिर्ता गर्नुपर्नेछ । ‘सरल कर्जाको कोष हुन्छ, पाँचवर्षसम्म पैसा चलाएर उनीहरुले कोषमै फिर्ता गर्नुपर्दछ’, प्रशासकीय अधिकृत दुलालले भन्नुभयो, ‘यसो हुँदा पालैपालो कृषकहरुले कोषको रकम सरलकर्जाका रुपमा प्रयोग गर्न पाउँनेछन् ।’