प्रजिअले लेखनदासहरुलाई दलाल,गुण्डा भनेपछि…..!


कृष्णउदास खनाल, वीरगन्ज ।

पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले मालपोतका लेखापढी ब्यवसायीहरुलाई झपारेपछि लेखापढी ब्यवसायीहरु आन्दोलित भएका छन् ।

जिल्ला मालपोत कार्यालय पर्साको लेखापढीको काम गर्दै आएका लेखनदासहरु आन्दोलित भएका हुन् ।

नेपाल लेखापढी कानून व्यावसायी संघ पर्साका अध्यक्ष रामाधार कलवारले मालपोत कार्यालयमा पुग्ने सेवाग्राहीको समस्याका बारेमा डेलिगेशन जाँदा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले उल्टै गाली गरेकोले विरोधमा उत्रिएको दाबी गर्नुभयो ।

मालपोत कार्यालयको समस्या समाधान गर्नुको साटो लेखनदासहरुलाई गुण्डा, दलाल, भ्रष्ट्राचारी भनेकोले प्रमुख जिल्ला अधिकारीको विरोध गर्नुपरेको उहाँको दाबी छ । आफुहरु काम नै बन्द गरेर आन्दोलनमा उत्रिएको उहाँले जानकारी दिनुभयो ।

मालपोतमा कर्मचारीको अभावले सेवाग्राहीको काम भइरहेको छैन भनेर प्रमुख जिल्ला अधिकारीसमक्ष डेलिगेशन लिएर गएको तर उल्टै प्रजिअले लेखापढी कानून व्यवसायीले गुण्डागर्दी शैली अपनाएको, तपाईंहरुको कारणले कर्मचारीहरुले दुःख पाएको जस्ता कुराहरु गरेर आफूहरुलाई नै गाली गरेको उहाँको दाबी छ । मालपोत कार्यालयमा १ अधिकृतसहित ५४ जनाको दरबन्दी छ तर हाल १८ जना कर्मचारीबाट कार्यालय संचालन भइरहेको छ ।

सेवाग्राहीलाई एउटा काम गराउन एकसातासम्म लाग्ने गरेको भन्दै सोमबारदेखि लेखनदासहरु आन्दोलनमा छन् ।

पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले भने आफूले लेखनदासहरुलाई आचरण सुधार्न आग्रह गरेको बताउनुभयो । उहाँले कार्यशैलीमा सुधार्न भन्दा उनीहरुले नकारात्मक रुपमा लिएको प्रतिक्रिया दिनुभयो ।

लेखनदासहरुले मालपोतका कर्मचारीको काममा अवरोध मात्रै सृजन ागर्ने गरेको आफूले पाएको बताउनुभयो । लेखनदासहरुले अटेरी गरेर कार्यालयको काममा अवरोध पुर्याए संस्था खारेजीको प्रक्रिया अघि बढाउन सकिने चेतावनी उहाँले दिनुभयो ।