कोइराला निवासमा खटिए नगर रक्षक


सरोज यादव, विराटनगर ।
प्रजातान्त्रिक आन्दोलनको केन्द्र मानिएको विराटनगरको ‘कोइराला निवास’ को सुरक्षार्थ खटिएका सुरक्षाकर्मी हटेपछि निवासको सुरक्षार्थ विराटनगर महानगरपालिकाले आफनै नगर प्रहरी खटाएको छ । महानगरले तत्काल तीन जना नगर रक्षक खटाएको जनाएको छ ।

सरकारले कोइराला निवासबाट सुरक्षाकर्मी हटाए संगै विराटनगर महानगरले आफ्ना नगररक्षक खटाएको छ, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले भन्नुभयो आज मंगलबारदेखि लागू हुनेगरी नगर रक्षक खटाउने निर्णय भएको छ । अर्काे सुचना नभएसम्मका लागि ३ जना नगर रक्षक खटाइएको उहाँले बताउनुभयो ।

यसअघि सरकारले विशिष्ट व्यक्तिको निवासमा खटिएका सुरक्षाकर्मी फिर्ता बोलाउने निर्णय गरेपछि कोइराला निवासका सुरक्षाकर्मी फिर्ता बोलाइएको थियो । एकै परिवारका तीनजना भाइहरु विश्वेश्वर प्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला र मातृकाप्रसाद कोइराला पूर्वप्रधानमन्त्री भएको निवास, प्रजातन्त्रको उदगम स्थल रहेको निवासबाट सुरक्षाकर्मी हटाइएको भन्दै कांग्रेसले विरोध गरेको थियो ।

विराटनगरको कोइराला निवासमा खटिएका सुरक्षाकर्मी हटाइएको विषयमा नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाएको थियो । प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले सोमबार एक विज्ञप्ति प्रकासित गरी कोइराला निवास व्यक्तिको मात्र नभएर प्रजातान्त्रिक आन्दोलनमा विश्वास राख्ने सबैको साझा भएको स्पष्ट गरेका छ्न ।

उहाँले निवासमा पुनः सुरक्षाकर्मीको युनिट राखिनुपर्ने कांग्रेसको धारणा भएको पनि बताउनुभएको थियो । कार्कीले प्रजातन्त्रिक आन्दोलनको सुरुवात गर्ने निवासबाट हठात निर्णय गरेर सरकारले सुरक्षाकर्मी फिर्ता गर्नु उचित नभएको जनाएको छ ।

कोइराला निवासमा २०५४ सालमा माओवादीले परिसरको पछाडिको भागबाट बम प्रहार गरेपछि त्यहाँ सुरक्षा सशस्त्र प्रहरीको युनिट स्थापना गरिएको थियो । तर, गृहमन्त्रालयले पत्राचार गरी पूर्वविशिष्टका निवासबाट सुरक्षाकर्मी फिर्ता बोलाउन निर्देशन दिएसँगै बिहीबारदेखि नै सुरक्षाकर्मी हटेका थिए ।

पिताजी कृष्णप्रसाद कोइरालाको नासोको रुपमा रहेको विराटनगरको कोइराला निवास भने सन्तानहरुमा अंशबन्डा भएपछि भने केही खुम्चिएको छ । दक्षिणपट्टीको आफ्नो भागमा परेको ८ कठ्ठा जमिन बीपी पुत्रहरु प्रकाश, डा. शशांक, श्रीहर्ष र छोरी चेतनाले बिक्री गरेपछि त्यहाँ नयाँ व्यापारिक भवन निर्माण भएका छन् ।उत्तरपट्टीको जग्गा तारिणीप्रसाद कोइरालाको भागमा परेको थियो ।

जसमध्ये केही जग्गा छोरा ज्योतिले बिक्री गरिसकेका छन् । पूर्वपट्टिको जमिन गिरिजाप्रसाद कोइरालाकी सुपुत्री सुजाताको भागमा परेको छ । यसको चार कठ्ठा जग्गा जीपी फाउन्डेसनलाई दिएर त्यहीं भवन निर्माण गरिएको छ ।