पेट्रोलियम पदार्थ आपुर्ति नगरे लाईसेन्स नै खारेज गर्ने चेतावनी


सलिम अन्सारी,प्युठान ।

जिल्ला प्रशासन कार्यालय प्यूठानले जिल्लामा रहेका पेट्रोल पम्पहरुले माग अनुसार पेट्रोलियम पदार्थ आपुर्ति नगरेको भन्दै पम्प संचालकहरुलाई कानुनी कारबाही गर्ने चेतावनी दिएको छ । दर्ता गरेर पनि पेट्रोल आपुर्ति नगर्ने पम्पहरुको लाईसेन्स खारेज गर्ने सम्मको चेतावनी स्थानिय प्रशासनले दिएको हो ।

प्यूठानको बिजुवार क्षेत्रमा रहेका दुई वटा पम्पहरुले उपभोक्तालाई पर्याप्त पेट्रोल उपलब्ध गराउन नसकेको चौतर्फी गुनासो आए संगै नेपाल आयल निगम नेपालगन्ज डिपोले झिमरुक आयल सप्लायर्स प्रा लिलाई स्पस्टिकरण सहितको पत्र पठाएको छ।पेट्रोल पम्प परिसरबाट पेट्रोल बिक्री बितरण नगरि बजारमा अभाबको सृजना गरिएको जन गुनासो आएकाले चित्त बुझ्दो जबाफ दिनुपर्ने यदि अन्यथा भए कानुनी कारबाही अगाडी बढाइने स्पष्टीकरण पत्रमा उल्लेख छ।

जिल्ला स्थित पेट्रोल पम्पहरुलाई जिल्ला प्रशासन कार्यालयले आपुर्ति सहज बनाउन बारम्बार तागेता गरेको र दुबै पक्ष बसेर आपूर्ति सहज बनाउने बिषयमा मौखिक समझदारी भए पनि कार्यन्वयन हुन नसकेपछी संचालकलाई पत्र पठाईएको जिल्ला प्रशासन कार्यालय प्युठानले बताएको हो।

पेट्रोल पम्प संचालककै कारण महिनौं दिन सम्म पनि पम्पमा पेट्रोल आपूर्ति हुन नसकेकाले यस्तो कदम चालिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले बताउनुभयो । पम्प संचालकहरुले आयल निगमको दोष देखाउदै पेट्रोल आपुर्ती हुन नसकेको बताउदै आएका थिए।

भने उपभोक्ताहरुले पेट्रोल पम्पले आपूर्ति नगरेकाले समस्या भएको गुनासो गर्दै आएका थिए।’ जिल्लामा पेट्रोल व्यावसायिहरुको समस्या समाधानका लागि नेपाल आयल निगम र आपुर्ति व्यवस्था विभागसँग परामर्श सहित अगाडी बढेको बताईएको छ । पम्पमा पेट्रोलियम पदार्थको सहज आपूर्ति हुन नसक्दा बजारमा पेट्रोलको कालोबजारी बढेको छ ।

सेवाग्राहीले पम्पबाट पेट्रोल नपाएपछि बजारमा मिनिरल वाटरको बोतलमा प्रतीलिटर १५० रुपैया सम्म तिरेर सवारी चलाउन बाध्य छन् ।

गैह्रकानुनी तरिकाले खुलेआम पेट्रोलियम पदार्थको बिक्री बितरण गर्नेलाइ कानुन अनुसार कडा कारबाही गरिने प्युठान प्रशासनले जनाएको छ ।