पाल्पा दरबार प्रदेश संग्रहालय बनेपछि उत्साह


कविराज नेपाल, पाल्पा
प्रदेश सरकारको मातहतमा आएर संग्रहालयको प्रवेशलाई व्यवस्थित गर्न टिकटको व्यवस्था र अन्य समसामयिक सुधार हुन थालेपछि पाल्पा दरबारप्रति आकर्षण बढ्न थालेको छ। गएको हप्ता अर्थात गणतन्त्र दिवसको अवसर पारेर पाल्पामा रहेको दरबार संग्रहालय ५ नं प्रदेश संग्रहालयका रूपमा सञ्चालनमा आएको हो। संघीय सरकारअन्र्तगत पाल्पा दरबार संग्रहालय केही महिनाअघि मात्र प्रदेश सरकारको मातहतमा आएको थियो। प्रदेश संग्रहालय भएको एक हप्ता नपुग्दै करिब एक हजार जनाले टिकट काटेर यसको अवलोकन गरेको संग्रहालय कार्यालयले जनाएको छ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्र्तगत रहेको पाल्पा दरबार संग्रहालय तानसेन नगरपालिकाको संरक्षणमा रहने गरी प्रदेश स्तरीय संग्रहालयका रूपमा सञ्चालनमा आएको यस संग्रहालयमा हाल मगरी, नेवारी तथा नेपाल अंग्रेज युद्धमा नेपाली सेनासंग सम्बन्धित विभिन्न पुराना सामग्री, ऐतिहासिक जानकारी रहेका छन्।
दरबार संग्रहालय प्रवेशका लागि विद्यार्थीलाई ५ रूपियाँ, सर्वसाधारणका लागि १० रूपियाँ, सार्क मुलुकका व्यक्तिका लागि ५० रूपियाँ र विदेशी नागरिकका लागि १ सय रूपियाँ टिकटको व्यवस्था गरिएको छ। संग्रहालयभित्र फोटो खिच्न स्वदेशी नागरिकका लागि २५ रूपियाँ, सार्कमुलकका नागरिकका लागि ५० रूपियाँ र विदेशी नागरिकका लागि ७५ रूपियाँ शुल्क तोकिएको छ। यसअघिसम्म दरबार संग्रहालय हेर्न कुनै शुल्क लिइएको थिएन। यसले आम्दानी पनि बढाउने र आर्कषण थप्नका लागि समेत मद्दत पुग्ने स्थानीय शैलेन्द्र भट्टराईले बताउनुभयो।

विसं। १९८० मा राणा प्रताप शमशेरले निर्माण गरेको पाल्पा दरबार २०६२ माघ १८ गते तत्कालीन माओवादी जनयुद्धको क्रममा जलेर ध्वस्त भएको थियो। २०७२ सालमा पाल्पा दरबार पुनर्निर्माण सकिएपछि संग्रहालयका रूपमा परिणत गरिएको हो।

२०६२ सालअघि प्रशासनिक भवनका रूपमा रहँदै आएको पाल्पा दरबार पुनः निर्माण भएपछि दरबारमा रहेका कार्यालय अन्यत्र सारिएको थियो। पुनर्निर्माण पाल्पा दरबार संग्रहालयलाई ५ नं प्रदेशका सम्पूर्ण सरसामान, कला संस्कृति भेषभुषा, जातजाति, पहिचान, भूगोल सबै किसिमका वस्तुहरू राखिने दरबार संग्रहालयका संरक्षक तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले बताउनुभयो।

५ नं प्रदेशको विविधता पाल्पा संग्रहालयबाट देखाउने गरी प्रदेश सरकारले योजना सारेको छ। पाल्पा दरबार संग्रहालयमा ६४ कोठा, २ बुर्जा रहेका छन्। संग्रहालयले हाल देस्रो तला मात्र प्रयोगमा ल्याएको छ भने अन्य २ वटा तला प्रयोगमा आउन सकेको छैन। तानसेन नगरपालिकाले निर्माण गरेको पाल्पा दरबार संग्रहालयको गुरुयोजनाअनुसार दरबार परिसरमा रहेका कार्यालय अन्य स्थानमा सार्ने पुरानो संचनाअनुसार खुला संग्रहालय, स्वप्न बगंैचा निर्माण, शान्त वातावरण, मनोरम दृश्यसहितको १९८० को स्वरूपमा फर्काउने रहेको छ।