बाह्रबिसेमा डीजिटल सूचनापाटी


नानीराम नेपाल, सिन्धुपाल्चोक ।
सेवाग्राहीका सुविधाका लागि बाह्रविसे नगरपालिकाले कार्यालयमा डीजिटल सूचनापाटी जडान गरेको छ ।

सूचनामा नगरवासीको पहुँच वृद्धि गर्नका लागि बाह्रविसे नगरपालिकाले कार्यालय परिसरमै डीजिटल सूचनापाटी जडान गरेको हो । नगरपालिकाले दिने सेवा र सेवा लिने प्रक्रियाबारे डीजिटल सूचनापाटीबाटै सेवाग्राहीलाई जानकारी पाउँनेछन् ।

विषयगत शाखाका हरेक सूचना र जानकारीमुलक सामाग्री डीजिटल सूचनापाटीमा अद्यावधिक हुन थालेपछि नगरवासीमा सूचनाको पुहँच बढेको बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले बताउनुभयो । ‘डीजिटल सूचनापाटीमा सवैखाले सूचना अपडेट हुन थालेपछि सेवाग्राही सूचनासँग नजिक बनिरहेका छन्’, मेयर शेर्पाले भन्नुभयो ।

बाह्रविसे नगरपालिकाको कार्यालयका अनुसार हरेक दिन विषयगत शाखाका महत्वपूर्ण सूचना र जानकारी सूचनापाटीमा अपडेट भइरहेका छन् । सम्झौता भएका योजना र सम्पन्न भएका योजनाका विवरणहरु सूचनापाटीमा देखिन्छ ।

कृषि, पशुसेवाका अनुदानका सूचनादेखि व्यवसाय दर्ता र दैनिक राजश्व संकलनको विवरण पनि डीजिटल सूचनापाटीमा अपडेट भइरहेका छन् ।

बाह्रविसे नगरपालिकाको कार्यालयसँग समन्वय गरी टुकी संघ सुनकोसीले डीजिटल सूचनापाटी जडान गरिदिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्र पौडेलले बताउनुभयो ।

स्मरण रहोस्, जिल्लाका कतिपय गाउँपालिकामा नागरिक बडापत्रसमेत राखिएको छैन ।