कर्मचारीको अभाव कायमै      


बैतडी, बैतडीका विभिन्न स्थानीय निकायका वडामा कर्मचारीको अभाव हुँदा जनप्रतिनिधिले नै काम गर्नु परिरहेको छ । वडामा सचिव नहुँदा सचिवले गर्ने काम पनि आफैँले गर्नु परिरहेको मेलौली नगरपालिका–१ का वडाध्यक्ष सुरतसिंह नेगीले बताउनुभयो ।

नगरपालिकाभरि दुई जना सचिव रहेको उहाँले बताउनुभयो । यस्तै जिल्लाभरि ८४ वडामध्ये ४१ वडा सचिवविहीन रहेका स्थानीय तहले जनाएका छन् । वडामा सचिव नहुँदा सेवाग्राहीलाई मर्का परेको छ । स्थानीय तहका वडाबाट साविकको गाविसभन्दा कम सेवा पाउने गरेको मेलौली नगरपालिका–७ का केशवसिंह भाटले गुनासो गर्नुभयो ।

वडामा कर्मचारी नहुँदा वडास्तरका सेवा पाउन सकिएको छैन भने स्थानीय तहमा पनि कर्मचारीकै अभाव रहेको छ । कर्मचारी नहुँदा वडाका काम प्रभावित हुने गरेको मेलौली नगरपालिका– ३ का वडाध्यक्ष रघुवीर भाटले जानकारी दिनुभयो । सिगास गाउँपालिकाका वडामा पनि सचिव नहुँदा सेवाग्राहीले सास्ती पाइरहेको गाउँपालिकाका उपाध्यक्ष द्रोपती चन्दले जानकारी दिनुभयो ।
रासस