काठमाडौंभित्र दिउँसो मालवाहक गाडी बन्द


नेपाल समाचारपत्र, काठमाडौं

सरकारले काठमाडौंभित्र आगामी असारदेखि दिउँसोको समयमा सबै खालका मालबाहक गाडी सञ्चालनमा रोक लगाएको छ।यातायात व्यवस्था विभागले उपत्यकाको ट्राफिक व्यवस्थालाई सहज बनाउन भन्दै सबै खालका मालवाहक सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।
विभागका अनुसार निर्माण समाग्री, खाद्यान्न बोक्ने भ्यान, ठूला मालवाहक सवारी साधनलाई सञ्चालनमा रोक लगाएको छ।

तर, पानी, दूध, अक्सिजनलगायतका अत्यावश्यक आपतकालीन सेवामा प्रयोग भएका सवारीसाधन बाहेकालाई विहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म सञ्चालनमा रोक लगाइएको विभागले जनाएको छ। विभागका अनुसार शनिबार र सरकारी बिदाका दिनमा भने बाध्यकारी गरिएको छैन।

उपत्यकाको सवारी चापलाई व्यवस्थित गर्न विभागले मालबहाक सवारीमा रोक लगाएको छ। विभागका अनुसार काठमाडौं तथा ललितपुरको चक्रपथभित्र, भक्तपुरको भित्री शहरी क्षेत्र, काठमाडौं तथा ललितपुर जिल्लाका चक्रपथ बाहिरको क्षेत्रमा रोक लगाइएको छ।

भक्तपुरको भित्री शहरी क्षेत्र, काठमाडौं तथा ललितपुर जिल्लाका चक्रपथ बाहिरका चाबहिल–जोरपाटी सडक, गोपीकृष्ण–कपन सडक,नारायणगोपाल चोक – बुढानीलकण्ठ सडक, बसुन्धरा क्षेत्र, सामाखुसी ग्रान्डी अस्पताल सडक, बागडोल नख्खु सडक, सातदोबाटो हरिसिद्धि सडक, ग्वार्को–चापागाउँ क्षेत्रमा सञ्चालनमा रोक लगाएको छ।