तियानमेन स्क्वायरको आन्दोलन दबाइनु उचित ः चिनियाँ रक्षामन्त्री


बेइजिंग, (एजेन्सी)

चीनले आइतबार सन् १९८७९ मा तियानमेन स्क्वायरमा प्रजातान्त्रिक आन्दोलन दबाइएको बारे वकालत गरेको छ। सो ऐतिहासिक तथा विवादास्पद घटनाबारे यसअघि चीनले बिरलै मात्र सार्वजनिक रूपमा उल्लेख गर्ने गरेको थियो।

चिनियाँ रक्षामन्त्री वेइ फेन्गेले हालै सिंगापुरमा आयोजित एउटा क्षेत्रीय मञ्चको बैठकमा सो आन्दोलन रोक्न तत्कालीन सरकारले गरेको दमनकारी नीति उचित भएको बताएका छन्।

सन् १९८९ को वसन्त ऋतुमा विद्यार्थी र मजदुरहरुले प्रजातन्त्र सर्मिर्थत विशाल विरोध प्रदर्शन आयोजना गर्ने क्रममा राजधानी बेइजिंगस्थित तियानमेन स्क्वायर कब्जा गरेका थिए।
कम्युनिस्ट सरकारले बल प्रयोग गरी उक्त आन्दोलन दबाउन खोज्दा थुप्रै व्यक्तिको ज्यान गएको थियो। सो घटनाको समचारलाई कडा ढंगले सेन्सर गरिएको थियो। ३ र ४ जुनमा बेइजिंगमा आम नरसंहारसंगै समाप्त भएको यस ६ साता लामो प्रदर्शनको ३०औं वार्षिकी मंगलबार परेको छ।
चीनमा यस आन्दोलन र यसलाई दमन गरिएको बारे छलफल गर्नसमेत नपाइने गरी कडा प्रतिबन्ध लगाइएको छ। व्यापार तथा सुरक्षा विषयक सिंगापुरमा आयोजित उक्त क्षेत्रीय मञ्चमा जनरल वेइ फेन्गेलाई दर्शक दीर्घाबाट एकजनाले तियानमेन स्क्वायर बारे प्रश्न सोधेका थिए।

ती व्यक्तिले वेइलाई चीनले किन सो घटनालाई राम्ररी सम्बोधन नगरेको भनी मानिसहरुले सोधिरहने गरेको भन्दै प्रश्न गरेका थिए। १० लाखभन्दा बढी प्रजातन्त्र हिमायती प्रदर्शनकारी सहभागी भएको यो आन्दोलन चीनको कम्युनिस्ट सरकारविरुद्ध भएको सबैभन्दा ठूलो राजतीतिक घटना मानिन्छ। वेइले दर्शकको जिज्ञासा मेट्ने क्रममा भनेका छन्– ‘त्यो घटना राजनीतिक अस्थिरता थियो र केन्द्रीय सरकारले त्यो अस्थिरता नियन्त्रणका लागि अपनाएको नीति एकदमै सही हो।

विगत ३० वर्षभित्र चीनमा थुप्रै परिवर्तन भइसकेका छन्। त्यतिबेला सरकारले उठाएको सही कदमका कारण चीनले स्थिरता र विकासको उपलब्धि हासिल गरेको छ। उक्त घटनाबारे सरकारी स्तरमा कुनै औपचारिक अभिलेख राखिएको छैन।

साथै हालसम्म बाहिर आएका तथ्यांक पनि वास्तविक नभएको राजनीतिक समिक्षकहरुले बताउने गरेका छन्। सो आन्दोलन चीनका अन्य शहरहरु र विश्वविद्यालयमा समेत फैलिएको थियो। ३ जुनको राति ठूलो संख्यामा सेना र टैंक परिचालन गर्दै सो आन्दोलन दबाइएको थियो।